काठमाडौँ– सरकारले संस्कृतिविद् सत्यमोहन जोशीलाई यही वैशाख २१ गतेको मन्त्रिपरिषद् बैठकमार्फत ‘वाङ्मय शताब्दी पुरुष’को उपाधिबाट सम्मान गरेकामा त्रिमूर्ति निकेतन र नइ प्रकाशनले स्वागत गरेका छन् ।


ADVERTISEMENT


निकेतन र प्रकाशनले सो सम्मानका लागि पहल गरिरहेका थिए । निकेतनको आयोजनामा विसं २०७१ मङ्सिर १५ गते तत्कालीन उपप्रधानमन्त्री वामदेव गौतम र मन्त्री नरहरि आचार्यको आतिथ्यतामा भएको कार्यक्रममा जोशीलाई उनको उचाइ बराबरको ताम्रपत्र र रु पाँच लाखसहित ‘शताब्दी पुरुष’ सम्मान दिइएको थियो ।


ADVERTISEMENT

# # #


प्रकाशनका सदस्य सचिव नरेन्द्रराज प्रसाईँले विसं २०७२ मा ‘शताब्दी पुरुषःसत्यमोहन जोशी’ ग्रन्थ पनि प्रकाशन गरेका थिए। शताब्दी पुरुष जोशी यही वैशाख ३० गते ९८ वर्षमा प्रवेश गर्दैछन्।

वरिष्ठ संस्कृतिविद् जोशीले नेपाली भाषा, साहित्य र संस्कृतिका क्षेत्रमा अनवरत रुपमा सक्रिय भई अध्ययन, अनुसन्धान र सिर्जनात्मक लेखनका माध्यमबाट वाङ्मयको गरिमा बढाउने कार्यमा अमूल्य योगदान पुर्याएबापत उनलाई सो उपाधिबाट सम्मान गरिएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आज स्पष्ट गरेको छ ।

निकेतन र प्रकाशनका संस्थापक नरेन्द्रराज प्रसाईँले सरकारले जोशीलाई सो उपाधिबाट सम्मान गर्नु नेपालका सबै स्रष्टाको गौरवको विषय हो भने ।