काठमाडौं–प्रहरी प्रधान कार्यालयले बलात्कार घटनालाई ढाकछोप गर्ने प्रहरी अधिकारीलाई विभागीय कारबाही गरेको छ । गत पुस १६ गते सुनसरीको इटहरी–२ हलगढास्थित रोयल रिसोर्टमा १४ वर्षिया किशोरीलाई भएको बलात्कार काण्डलाई ढाकछोप गर्न खोजेको भन्दै प्रहरी प्रधान कार्यालयले तत्कालीन सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक विद्यानन्द माझी र प्रहरी निरीक्षक चिरञ्जीवी दाहाललाई कारबाहीका तानेको थियो ।


ADVERTISEMENT


सो घटना छानबिन गर्न बनेको समितिको प्रतिवेदनका आधारमा प्रधान कार्यालयले एसपी माझी र इनिस्पेक्ट दाहाललाई विभागीय कारबाही गरेको हो । प्रहरी प्रवक्ता एसएसपी शैलेस थापाका अनुसार एसपी माझीलाई रेकर्डमा जनिने गरी कारबाही गरेको हो । उनको एक वर्षको ग्रेड रोक्का गरिएको छ ।


ADVERTISEMENT

# # #


थापाका अनुसार प्रहरी निरीक्षक दाहालको खाइपाई आएको तलब सुविधामा एक स्केल घटाइदिएको छ । ‘बलात्कार जस्तो जघन्य अपराधलाई ढाकछोप गर्ने प्रहरीलाई छुट दिन मिल्दैन,’ प्रवक्ता थापाले भने, ‘घटनाको अनुसन्धान गर्न बनेको समितिको सिफारिशमा प्रधान कार्यालयले उनीहरुलाई कारवाही गरेको हो।’

माघ पहिलो साता काठमाडौंको दरबारमार्गस्थित ल्याडमार्क होटलमा एक युवतीलाई सामूहिक बलात्कार गर्ने आरोपी भगाएको आरोप लागेका प्रहरीमाथि पनि प्रधान कार्यालयले छानबिन थालेको छ । प्रहरी वृत्त दरबारमार्गका तत्कालीन प्रहरी निरीक्षक लक्ष्मण ठकुरी र सई चन्द्र भण्डारीले घटनाका आरोपी भगाएको भन्दै निलम्बनमा परेका थिए ।

घटनाका आरोपीसहित उनीहरूलाई प्रतीपक्ष बनाएर काठमाडौं प्रहरीले मुद्दा दायर गर्न जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंमा फाइल पठाएको थियो । कार्यालयले घटनाका अन्य आरोपीलाई मुद्दा दायर गरेको र दुई प्रहरीलाई विभागीय कारबाही गर्न प्रहरीलाई पत्राचार गरेको छ ।