काठमाडौं–छिमेकी मुलुक भारतको केरलामा फैलिएको अत्यन्तै संक्रामक निपा भाइरसले उपचारमा संलग्न नर्ससहित ११ जनाको ज्यान लिइसकेको छ । नेपाल पनि यो भाइरस संक्रमणको उच्च जोखिममा छ तर यहाँ यो रोग भित्रिन नदिन तथा भित्रिइहालेमा नियन्त्रण गर्न कुनै पूर्वतयारी छैन ।


ADVERTISEMENT


निपा भाइरस सार्नसक्ने ‘टेरोपस’ प्रजातिको चमेरो नेपालमा पनि भएको औंल्याउँदै विश्व स्वास्थ्य संगठनले भारत, बंगलादेशसहित नेपाललाई पनि यो रोगको जोखिम भएका देशको सूचीमा राखेको छ।


ADVERTISEMENT

# # #


शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालकी निर्देशक डा. मनिषा रावलले निपाको संक्रमण भित्रिएमा नियन्त्रण र उपचार निकै कठिन हुने बताइन्। ‘धरातल जे छ, त्यही भन्नुपर्यो। निपा संक्रमण भित्रिए त्यसलाई नियन्त्रण र रोगीको उपचार गर्ने क्षमता अहिले हामीसँग छैन’, डा. रावलले स्रोतसँग भनिन्।

महामारी नियन्त्रणका लागि काम गर्ने सरकारी निकाय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. केदार सिन्चुरीले यस्ता डरलाग्दा रोगसँग जुध्न सरकारी अस्पतालमै आइसोलेसन वार्ड, भेन्टिलेटर, आइसियु र छुट्टै तथा सुविधासम्पन्न एम्बुलेन्स नभएको स्वीकार गरे । ‘उपचारमा संलग्न हुने स्वास्थ्यकर्मीले लगाउने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्टसम्म छ’, सिन्चुरीले भने ।

इबोला भाइरस संक्रमणका बेला सशस्त्र प्रहरीको अस्पतालमा आइसोलेसन कक्ष बनाइएको भन्ने सुनेको बताउँदै उनले भने, ‘केही दिनमै त्यसको निरीक्षण गर्छौं । कति बेड छ, तलिमप्राप्त र विशेषज्ञ जनशक्ति छन् कि छैनन् भन्ने पनि हेर्नुपर्छ ।’ शुक्रराज अस्पतालमा कडा खालका सिजन फ्लुका बिरामीलाई आइसोलेसनका रुपमा क्याबिनमा राखेर उपचार गर्ने व्यवस्था भएको जानकारी दिँदै उनले भने, ‘निपाको संक्रमण भएमा यतिले मात्रै पुग्दैन ।’ – आजको नागरिकबाट