विराटनगर–सुन तस्करी र सनम शाक्य हत्या काण्डका मुख्य अभियुक्त चूडामणि उप्रेती गोरेलाई शुत्रबार (आज) तेस्रो दिन पनि बयानका लागि जिल्ला अदालत मोरङ लगिएको छ ।


ADVERTISEMENT


बिहीबार र बुधबार दुई दिन बयान लिए पनि नसकिएपछि शुक्रबार पुन बयानकै लागि उनलाई अदालत लगिएको हो । गोरेलाई अदालत लैजाँदा र अदालतबाट निकाल्दा कडा सुरक्षा व्यवस्था अपनाउने गरिएको छ ।


ADVERTISEMENT

# # #


आफूमाथि असुरक्षा बढेको भन्दै गोरेले मानव अधिकारकर्मीको निगरानीमा हिरासतमा बस्न पाउनु पर्ने माग गरेपछि अदालत पुर्याउँदा र फर्काउँदा पनि सुरक्षा व्यवस्था कडा गरिएको छ । बिहीबारसम्ममा गोरेसँग १६ पृष्ठको बयान लिइएको छ ।

जिल्ला न्यायाधीश नारायणप्रसाद शर्माको रोहबरमा उनीसँग बयान लिने काम भइरहेको छ । गोरेको बयान शुक्रबार सकिए आइतबार थुनछेक बहस हुने अदालत स्रोतले बतायो ।

सुन तस्करी र सनम हत्या प्रकरणमा ६३ अभियुक्त विरुद्ध सुन तस्करी र सनम हत्या काण्डमा जिल्ला अदालत मोरङमा अपराधिक समूह स्थापना तथा संचालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान शीर्षकमा गत बैशाख १९ गते मुद्दा दर्ता गरिएको थियो ।

जसमा एसएसपी श्यामबहादुर खत्री सहित ३२ जना अझै फरार रहेका छन् । मंगलबार पक्राउ परेका गोरे अदालतमा बयान दिइरहेका छन् । २८ जना पुर्पक्षका लागि थुनामा छन् । दुईजना धरौटी र साधारण तारेखमा छुटिसकेका छन् ।