बाजुरा(रासस)–बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिकाका अधिकांश अपांगता भएका व्यक्तिले सदरमुकाम पुगेर अपांगता परिचय पत्र नपाएको गुनासो गरेका छन् ।


ADVERTISEMENT


भौगोलिक विकटमा रहेको हिमाली गाउँपालिकाका अपांगता भएका व्यक्तिले परिचय पत्र गाउँबाट जिल्ला सदरमुकाम पुग्न टाढा भएकै कारण समयमै अपांगता परिचय पत्र नपाएको हिमाली गाउँपालिका– १ देउसैनका वीरबहादुर थापाले बताएका छन् ।


ADVERTISEMENT

# # #


थापाका सातजना परिवारमध्ये पाँचजना अपांगता भएका छन् । आमा बुबाले बोल्न नसक्ने र श्रवणशक्ति गुमाएका छन् । भने तीन छोराछोरी दृष्टिविहीन रहेका छन् । आमा बुबा बोल्न नसक्ने आफू दृष्टिविहीन भएका कारण अरु भाइबहिनीलाई जिल्लामा लिएर परिचय पत्र बनाउन नसकेको वीरबहादुरले दुखेसो पोखेका छन् ।

२५ वर्षका वीरबहादुरले आफन्तको सहयोगमा परिचयपत्र बनाएको भए पनि उनकी २० वर्षीया श्रीमती अञ्जना थापा र सात वर्षीया भाइ विशाल थापाको परिचय पत्र बनाउन नसकेको थापाले बताएका छन् ।

सोही गाउँका लालबहादुर थापाकी दुई जुम्ल्याहा छोरी पनि जन्मदेखि नै दृष्टिविहीन छन् । पाँच वर्षकी धर्मकला र कर्मकला दुबै दिदीबहिनी दृष्टिविहीन रहेकी छिन् । अपांगता परिचय पत्र बनाउनका लागि उनीहरुले जिल्ला सदरमुकाम मार्तडीमा लगेर परिचय पत्र बनाउन समस्या भएको लालबहादुर थापाले बताए ।

हुम्ला जिल्लाको सिमानामा रहेको हिमाली गाउँपालिका– ३ मा पर्ने गुम्बा गाउँका स्थानीयवासीले सदरकमुकाम मार्तडी पुग्न चार दिन भन्दा बढी लाग्ने भएकाले अहिलेसम्म नागरिकता लिएका छैनन् ।

गाउँमा २८ जनाको मात्र नागरिकता बनेको छ । अझै करीब ५० जना भन्दा बढी गुम्बाका स्थानीयवासीले नागरिकता पाउनबाट वञ्चित भएका छन् । नागरिकता नबनाएकै कारण हालै सम्पन्न तीन तहको निर्वाचननमा मतदानबाट वञ्चित भएको गुमबाका कृष्ण लामाले बताएका छन् । उनले गाउँमा अपांगता भएका व्यक्तिले टाढा भएकै कारण परिचयपत्र नपाएको गुनासो गरेका छन् ।

हिमाली गाउँपालिकाका अध्यक्ष गोविन्दबहादुर मल्लले जिल्ला प्रशासन कार्यालय बाजुरासँग समन्वय गरी शिविर सञ्चालन गर्न आग्रह गर्दै आएको बताएका छन् । गाउँपालिका अध्यक्ष मल्लले आफूले दुर्गमका जनताको हकहितका लागि पहल गर्दै आएको बताए ।

यता प्रमुख जिल्ला अधिकारी चेतराज बरालले उत्तरी भेगका स्थानीयवासी नागरिकता, अपांगता परिचय पत्र लगायतका सेवा सुविधाबाट वञ्चित हुँदै आएकाले आउँदो शुक्रबार शिविर सञ्चालन गर्ने तयारी रहेको बताएका छन् ।