काठमाडौं–यस वर्षको सगरमाथा आरोहणबाट ३६ करोड १४ लाख ९८ हजार ३२१ रूपैयाँ रोयल्टी संकलन भएको छ । वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो भने यही जेठ ११ गतेसम्म चलेको हो ।


ADVERTISEMENT


यस याममा ४०० भन्दा बढीले आरोहण सम्पन्न गरेका छन् । अघिल्ला वर्ष भन्दा यस पटकको आरोहणमा मानवीय क्षति पनि कम भएको छ । यस वर्षको वसन्त ऋतुमा पर्यटन विभागले आरोहण अनुमति दिएका २८ हिमालबाट हालसम्म ४१ करोड २८ लाख ८४ हजार ६३८ रकम रोयल्टी संकलन गरेको छ ।


ADVERTISEMENT

# # #


त्यसमध्ये सबैभन्दा धेरै रोयल्टी रकम सगरमाथाले संकलन गरेको हो । यो तथ्यांकमा केही बढ्न सक्ने पर्यटन विभागको भनाइ छ । विभागका निर्देशक रामप्रसाद सापकोटाका अनुसार सगरमाथाबाट र ३६ करोड १४ लाख ९८ हजार ३१२ रोयल्टी संकलन भएको छ । सगरमाथासँगै रहेको ल्होत्से हिमालबाट एक करोड ९८ लाख ९३ हजार ६० रोयल्टी संकलन भएको छ ।

यसैगरी कञ्चनजङ्घाबाट रु ८२ लाख २६ हजार ७२०, धौलागिरीबाट रु ६३ लाख ६३ हजार ९०, आमाडब्लामबाट रु २० लाख ४७ हजार ८७७ र मनास्लुबाट रु १४ लाख ९३ हजार २८० रकम संकलन भएको छ । यस वर्षको वसन्त ऋतुमा चार नेपालीसहित ३८ आरोही दलका सगरमाथाको शिखर चुम्ने अभियानमा केन्द्रीत भएका थिए ।

सगरमाथा आरोहणको रोयल्टी समेत फरक ऋतुमा फरक–फरक नै छ । विभागका अनुसार विदेशी नागरिकले वसन्त ऋतुमा ११ हजार अमेरिकी डलर रोयल्टी तिर्नुपर्छ भने शरद ऋतुमा पाँच हजार ५०० डलर र गर्मी समयमा दुई हजार ७५० अमेरिकी डलर रोयल्टी तिर्नुपर्दछ । यस्तै नेपाली आरोहीले वसन्तु ऋतुमा ७५ हजार, शरद ऋतुमा ३७ हजार ५०० र गर्मी याममा १८ हजार २५० रोयल्टी तिर्नुपर्ने व्यवस्था छ ।

वसन्त ऋतुको आरोहण गत वैशाख ३० गतेदेखि शुरु भएको थियो । आरोहणको पहिलो दिन डोरी टाग्न पुगेका आठ शेर्पाले आरोहणको उद्घाटन गरेका थिए ।

विगतमा भन्दा कम क्षति
यस वर्षको वसन्त ऋतुको सगरमाथा आरोहणको क्रममा तीन जनाको मृत्यु भएको छ । यस्तै हिम पहिरोमा परी एकजना मात्रै बेपत्ता भएका छन् । खुम्बु फर्कने क्रममा आरोही डोमा सार्की शेर्पाको यही जेठ २ गते बुधबार मृत्यु भएको छ ।

खुम्बु पासाङल्हामु गाउँपालिका– १ का ३६ वर्षीय शेर्पाको मृत्यु भएको सोलुखुम्बु प्रहरीले जनाएको छ । प्रहरी निरीक्षक प्रद्युम्नकुमार अधिकारीका अनुसार आधार शिविर–२ को खुुम्बु आइसफलमा लडेर घाइते भएका शेर्पाको तत्काल उपचारका लागि सोही गाउँपालिका– ५ स्थित माउण्टेन मेडिकलमा लगिएको र उपचारका क्रममा उनको मृत्यु भएको थियो ।

शेर्पा हिमालयन एशोसिएसन कम्पनीबाट सगरमाथा आरोहणमा गएका थिए । यसअघि सगरमाथा आरोहणकै क्रममा दुई विदेशीको मृत्यु भएको थियो । शिविर तीन पुगेर फर्कने क्रममा गत आइतबार राति ३६ वर्षीय जापानी नोबुकाजु कुरिकी र ६२ वर्षीय मेसोडोनियाली जेओर्जी पेटकोभको सगरमाथाको शिविर तीन माथि लेक लागेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

सम्पर्क अधिकृत श्रेष्ठका अनुसार अघिल्ला वर्षमा भन्दा यस वर्षको आरोहणमा कम क्षति भएको छ । सन् २०१४ मा हिमपहिरोका कारण १६ नेपालीसहित १९ जनाको निधन भएको थियो ।

यस्तै सन् २०१२ मा हिमपहिरोमा परेर ११ जनाको निधन भएको थियो भने सन् २०१५ मा २२ आरोहीले ज्यान गुमाएका थिए । सन् २०१७ मा तीन आरोहीको निधन भएको थियो भने एक आरोही हराएका थिए । यस आधारमा हेर्दा यस पटकको आरोहणमा कम मात्रै मानवीय क्षति भएको श्रेष्ठको भनाइ छ ।

नेपाल पर्वतारोहण संघका पूर्वअध्यक्ष आङछिरिङ शेर्पा विगत वर्ष भन्दा यस पटक सगरमाथा आरोहण बढी सुरक्षित रहेको र मानवीय क्षति समेत कम भएको बताए । आरोहणका क्रममा बढी सर्तकर्ता अपनाइएको, तालीम प्राप्त पथप्रदर्शकको व्यवस्था तथा समयमै सम्पूणं आरोहणको जानकारीलगायतका कारण पनि क्षति कम भएको उनको भनाइ छ ।

आरोहणको रोयल्टीमध्ये ७० प्रतिशत सरकारलाई र ३० प्रतिशत सम्बन्धित जिल्लाको स्थानीय विकासमा खर्च गरिने पनि पूर्वअध्यक्ष शेर्पाले जानकारी दिए ।