काठमाडौँ– युवा तथा खेलकुदमन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले भैँसीगोठ उद्घाटन गरेको तस्बिर यतिबेला भाइरल बनेको छ । मन्त्री सुनारले रातो रिबन काट्दै भैँसीगोठको उद्घाटन गरेपछि उनको यो तस्बिर भाइरल बनेको हो । तस्बिरका कारण उनी खेलकुदमन्त्री हुन् कि पशु (कृषि) मन्त्री खुट्याउन गाह्रो भएको छ ।


ADVERTISEMENT


सरकारले मन्त्री विश्वकर्मालाई युवा तथा खेलकुद क्षेत्रको विकास र विस्तारको जिम्मेवारी दिए पनि यतिबेला उनले भैँसीगोठ उद्घाटन गरेर आफूलाई बहुउद्देश्यीय मन्त्रीको रूपमा परिचित गराएका छन् ।


ADVERTISEMENT

# # #


रोजगारको खोजीमा दैनिक १५ सय युवा खाडी प्रस्थान गरिरहँदा, निर्माण सुरु भएको १० वर्षभन्दा बढी समयसम्म पनि मुलपानी अन्तर्राष्ट्रिय क्रिकेट मैदान सम्पन्न नभइरहेका बेला, १३ औँ दक्षिण एसियाली खेलकुद (साग) आउन १ वर्षमात्रै रहेकाले त्यसको तयारी गर्नुको सट्टा मन्त्री विश्वकर्माको व्यस्तता भने भने भैँसीगोठ उद्घाटनतिर देखिन्छन् ।

खेलकुदमा आफ्नोे काम, कर्तव्य र जिम्मेवारीभन्दा पनि खेलकुद प्रतियोगिताको उद्घाटन र समापनमै सीमित मन्त्री विश्वकर्माले ती कार्यक्रममा दिने भाषण सुन्नेहरू कामकुरो एकातिर कुम्लो बोकी ठिमीतिर भन्ने उखान सम्झँदै खासखुस गर्ने गर्छन् ।

खेलकुदको यस्तो व्यस्त र ठूलो जिम्मेवारी हुँदाहुँदै पनि मन्त्री विश्वकर्मा कहिले किन र कसको भैँसीगोठ उद्घाटनको रिबन काट्न पुगे त्यो अहिले खेलकुद क्षेत्रमा चर्चाको विषय बनेको छ ।