काठमाडौं – राष्ट्रियसभाले भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको छ ।
बिहीबार बसेको बैठकमा राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रिय सभा नियमावली, २०७५ को नियम १६७ बमोजिम १ सदस्य पछि थप गर्ने गरि ९ सदस्यीय भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद् सम्बन्धी अध्ययन तथा अनुगमन संसदीय विशेष समिति गठन गरेको जानकारी दिएका हुन् । समितिको सदस्यमा कृष्ण प्रसाद पौडेल, गीता देवकोटा, घनश्याम रिजाल, श्रीकृष्ण प्रसाद अधिकारी , सम्झना देवकोटा, सोमनाथ पोर्तेल, पुजा चौधरी र तुल प्रसाद विश्वकर्मा रहेका छन् ।
विपद् प्रभावितलाई पुनस्र्थापना एवम् भौतिक संरचनाको पुनर्निर्माण, जोखिम न्यूनीकरण र जलवायु न्यायको लागि मार्गचित्र सिफारिस गर्नका लागि विपद् सम्बन्धमा सबै पक्षको अध्ययन गरी राष्ट्रिय सभामा प्रतिवेदन पेश गर्ने गरि विशेष समिति गठन गरिएको अध्यक्ष दाहालले जानकारी दिए ।
समितिको कार्यावधि २०८३ पुस मसान्तसम्म रहने र आफ्नो कार्यक्षेत्र अन्तर्गतको जिम्मेवारी सुव्यवस्थित ढंगले सञ्चालन गर्न राष्ट्रिय सभा नियमावली, २०७५ को अधिनमा रही आवश्यक कार्यविधि, कार्ययोजना र कार्यतालिका बनाई लागू गर्न सक्ने उनले बताए ।
















