काठमाडौं–द्वन्द्वकालिन मुद्दामा जेल सजाय भोगिरहेका बालकृष्ण ढुंगेल जेल मुक्त हुने भएका छन् । ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलन भएका कैदीको बाँकी कैद माफी हुने प्रवाधानअनुसार सरकारले ढुंगेललाई बाँकी कैद मिनाहाका लागि सिफारिस गरेको थियो ।


ADVERTISEMENT


उक्त सिफारिसलाई राष्ट्रपति विद्यादेवी भण्डारीले सोमबार स्वीकृत गरेपछि डिल्ली बजार कारागारमा रहेका ढुंगेल जेलमुक्त भएको कारागार स्रोतले जानकारी दिएको छ । आज गणतन्त्र दिवसका अवसरमा ढुंगेलसहित ८ सय १६ कैदी जेलमुक्त हुँदैछन् ।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषदको सिफिारिस बमोजिम एघारौं गणतन्त्र दिवसको उपलक्ष्यमा उनीहरुलाई संविधानको धारा २७६ बमोजिम माफी भएको राष्ट्रपति कार्यालयले जनाएको छ । आइतबार साँझ बसेको बैठकले सजाय माफीको निर्णय राष्ट्रपति कार्यालयमा पठाएको थियो ।

ढुंगेललाई माफी दिन लागिएको बिरोधमा सर्वोच्च अदालतमा परेको रिटमाथि सुनुवाई जारी छ । अदालतले सोमबारमात्र ढुंगेललाई माफी दिने निर्णयको सक्कल प्रति मागेको थियो । द्वन्द्वकालमा उज्जनकुमार श्रेष्ठको हत्या मुद्दामा जिल्ला अदालतको फैसलाअनुसार ढुंगेल द्वन्द्वकालमै साढे सात वर्ष जेल बसेका थिए ।

पछि पुनरावेदन अदालतले सफाइ दिएपछि उनी जेलमुक्त भएका थिए । तर फेरि सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैदको फैसला सुनाएपछि उनी गत कात्तिक १४ गते पक्राउ परेका थिए ।

ज्यान मुद्दामा ४० प्रतिशत कैद भुक्तान गरेपछि असल चालचलनका आधारमा बाँकी कैद माफी हुने प्रवाधानअनुसार ढुंगेल आज जेलमुक्त हुने भएका हुन् ।