काठमाडौं–नेपाली युवा लेग स्पीनर सन्दीप लामिछाने क्रिकेटको मक्का मानिने लर्ड्समा टि–ट्वान्टी विश्व च्याम्पियन वेस्ट इन्डिजविरुद्ध हुने च्यारिटी खेलका लागि आज मंगलबार इङ्ल्यान्ड जाँदैछन् । आईपिएलको डेब्यू खेलमै विकेट लिएर सबैको मन जितेका नेपाली युवा स्पिनर लामिछानेलाई अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलले विश्व ११ टिममा सामवेश गरेको थियो ।


ADVERTISEMENT


आगामी मे ३१ तारिखमा हुने खेलमा १७ वर्षीय सन्दीपसँगै विश्व ११ टिममा अफगानिस्तानका रसिद खान, पाकिस्तानका साहिद अफ्रिदीजस्ता होनाहार बलर छन् । इयान मोर्गन कप्तान रहेको खेलमा तमिम एकबाल, लुक रोची, दिनेश कार्तिक, मिचेल म्याक्लिघन, सोएब मलिक, हार्दिक पाण्ड्या, थिसारा परेरा टिममा छन् ।


ADVERTISEMENT

# # #


सकिब अल हसनले व्यक्तिगत कारण देखाउँदै नाम फिर्ता लिएपछि आईसिसी–११ टोलीमा सन्दीपलाई समावेश गरिएको थियो । वेस्ट इन्डिज टिममा स्यामुयल बद्री, कार्लोस बार्थवेट, क्रिस गेल, इभिन लेविस, मार्लोन स्यामुयल्स र आन्द्रे रसेल जस्ता स्टार खेलाडी हुनेछन् ।

वेस्ट इन्डिजमा गत वर्ष आएको आँधीका कारण भत्किएको रंगशाला निर्माणमा सहयोगका लागि च्यारीटि खेल हुन लागेको हो । क्यारेबियन क्षेत्रमा आँधिका कारण भत्किएका रंगशालाको संरचना पूनर्निर्माणका लागि आईसिसीले च्यारिटी खेलको आयोजना गर्न लागेको हो ।

आईपिएलमा लिग चरणको आफ्नो १२ ‍‍औं खेलमा दिल्ली डेयरडेभिल्सले सन्दीपलाई खेलाएको थियो, रोयल च्यालेन्जर्स बैंगलोरविरुद्ध । उनले पहिलो खेलमा चार ओभर बलिङ गर्दै एक विकेट लिएर २५ रन खर्चिएका थिए ।

उनले दोस्रो खेलमा चेन्नई सुपर किङ्सविरुद्ध चार ओभरमा २१ रन खर्चिएर एक विकेट हात पारेका थिए । तेस्रो खेलमा सन्दीपले मुम्बई इन्डियन्सविरुद्ध चार ओभरमा ३६ रन खर्चिएर ३ विकेट लिएका थिए ।