बनेपा– बनेपामा नेवारी समुदायले मनाउने प्रसिद्ध चण्डेश्वरी जात्रा आजदेखि सुरु भएको छ । संस्कृतविद् ज्ञानकाजी मानन्धरले चण्डेश्वरीदेवी बनेपालीको आराध्यदेवी भएको उल्लेख गर्दै चण्डेश्वरीदेवीले दैत्यराज चण्डाशुरको बध गरेको खुसियालीमा चण्डेश्वरी जात्रा हुने गरेको बताए ।


ADVERTISEMENT


वंशावलीअनुसार सत्ययुगदेखि जात्रा हुने गरेको उल्लेख गर्दै उनले चण्डासुर दैत्यको बध भएपछि देवलोकमा देवी चण्डेश्वरीको बाजागाजासहित जात्रा गरिएकाले सो जात्राको परम्परा सुरु भएको जानकारी दिए । संस्कृतविद् मानन्धरले नेपाल संवत्को सुरुवातदेखि नै नेपालमा जात्राको सुरुवात भएको जानकारी दिँदै स्थानअनुसार फरक फरकरुपमा काभ्रेपलाञ्चोकमा जात्रा गर्ने प्रचलन रहेको बताए ।


ADVERTISEMENT

# # #


जिल्लामा उग्रचण्डी नालामा भगवती महालक्ष्मीको, साँगामा नासिका भगवतीको, चौकोटमा श्वेतगणेशको, श्रीखण्डपुरमा श्वेत भैरबको र पनौतीमा इन्द्रेश्वरको जात्रा बर्सेनि हुने गरेको छ । साहित्यकार तथा काभ्रेपलाञ्चोकका अग्रज पत्रकार मोहन दुवालले चण्डेश्वरी मन्दिर लिच्छवीकालीन मन्दिर भएको उल्लेख गर्दै काठमाडौँको नरदेवी र बूढानीलकण्ठमा समेत चण्डेश्वरीको जात्रा हुने जानकारी दिए ।

जात्राको पहिलो दिन बनेपाको तीन धारामा रथको निर्माण गरिन्छ अनि रातिमा देवी चण्डेश्वरीको मूर्ति प्रतिस्थापित गरेर दोस्रो दिन बनेपा बजार घुमाएर चण्डेश्वरीको स्वागत गरिने दुवालले बताए । जात्राका लागि बनेपा नगरपालिकाले कुल रु आठ लाख ८५ हजार खर्च हुने अनुमान गरेको र रु १२ लाख जात्रालगायतका अन्य विभिन्न चाडपर्वमा खर्च हुने बनेपा नगरपालिकाका सूचना अधिकारी यज्ञबहादुर वैद्यले जानकारी दिए ।

बनेपा नगरपालिकाले छुट्याएको सो बजेट भीमसेन जात्रा, गाईजात्रा, चण्डेश्वरी माताको नित्य पूजा, जालदेउ जात्रा, मिलापूजा, पाश्चर्य पूजालगायत संस्कृति संरक्षणमा खर्च हुने उनले बताए। उनले जात्रामा कङ्पुग बाजा, शाही बाजा विधि बाजाका रुपमा र सनही बाजा र धिमे बाजासमेत जात्रामा बजाइन्छ भने ।

जात्रामा कम्तीमा १४ वटा बली पूजासमेत गरिन्छ । नेवारी समुदायले जात्रा सम्पन्न गरेपछि आफन्तजनलाई आमन्त्रण गरेर भोज खुवाउने चलन रहेको छ । वैशाख शुक्लपूर्णिमा र भोलिपल्ट दुई दिनसम्म मनाइने जात्राको अघिल्लो दिन उहिलेका राजा महाराजले प्रयोगमा ल्याएका गरगहना र सिक्काको पूजाआजा समेत गरिने प्रचलन छ ।