काठमाडौं–अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीच १२ जुनमै भेटवार्ता हुने तय भएको छ । ह्वाइट हाउसमा शुक्रबार ट्रम्प र किम जोङ उननिकट जनरल किम योङ चोलबीच भेटवार्ता भएपछि सिंगापुरमा १२ जुनमै भेटवार्ता गर्ने तय भएको हो ।


ADVERTISEMENT


यसअघि १२ जुनमा सिंगापुरमा तय भएको ट्रम्प र किमबीचको भेटवार्ता अमेरिकाले एकतर्फीरुपमा रद्द गरेको थियो । उत्तर कोरिया भड्काउमा लागेको आरोप लगाउँदै ट्रम्पले भेट्न नसकिने पत्र पठाएका थिए । त्यसलगत्तै दुवै देशका कुटनीतिज्ञहरुबीच वार्ताको वातावरण बनाउने प्रयास सुरु भएको थियो । सोही प्रयासअनुसार उत्तर कोरियाली नेता किमले आफू निकटका चोललाई अमेरिका पठाएका थिए ।


ADVERTISEMENT

# # #


उत्तर कोरियाका वरिष्ठ अधिकारी चोल बिहीबार बेइजिङ हुँदै न्यूयोर्क पुगेका थिए । त्यहाँ उनले सुरुमा अमेरिकी विदेशमन्त्री माइक पोम्पियोसँग भेटवार्ता गरेका थिए ।

त्यसपछि शुक्रबार चोलले ट्रम्पलाई भेटेका थिए । उनले किम जोङ उनले पठाएको पत्र ट्रम्पलाई दिएका थिए । त्यसपछि ट्रम्पले १२ जुनमै भेटवार्ता हुने जानकारी दिएका छन् ।

पत्रकारहरुलाई ट्रम्पले भनेका छन्, ‘सिंगापुरमा १२ जुनमा हुने भेटवार्तामा कोरियाली प्रायद्वीपमा युद्धलाई औपचारिक रुपमा समाप्त गर्ने विषयमा छलफल हुने छ ।’

यदि किम जोङ्ग उन र डोनाल्ड ट्रम्पबीच भेटवार्ता भयो भने अमेरिकी राष्ट्रपति र उत्तर कोरियाली शीर्ष नेताबीच इतिहासकै पहिलो भेटवार्ता हुनेछ ।

दक्षिण र उत्तर कोरियाबीच सन् १९५० देखि १९५३ सम्म युद्ध भएको थियो । तर, युद्ध समाप्ति सम्बन्धी कुनै सम्झौता भएको छैन । हालै दक्षिण कोरिया भ्रमण गरेर उत्तर कोरियाली नेता किम जोङ उनले कोरियाली प्रायद्वीप शान्ति स्थापना गर्ने सहमति गरेका थिए । त्यसलगत्तै उत्तर कोरियाले आफ्नो एक आणविक परीक्षण केन्द्र नष्ट गरेको थियो ।