रसुवा(रासस)–सदरमुकामको नजिक रहे तापनि विकट हाकु गाउँमा मोटर बाटो निर्माण शुरु भएको छ ।


ADVERTISEMENT


त्रिशूली नदी किनारबाट स्याफ्रुबेँसी–मैलुङ सडक निर्माण भएपछि हाकु क्षेत्रमा सडक निर्माण गर्न सहज वातावरण भएकाले त्यस भेगका ५०० भन्दा बढी घर परिवारलाई यातायातको पहुँच पुर्याउन आफ्नो आन्तरिक बजेटमार्फत शुक्रबारदेखि सडक निर्माण अगाडि बढाइएको आमाछोदिङमो गाउँपालिकाले जनाएको छ ।


ADVERTISEMENT

# # #


गापा अध्यक्ष बुचुङ तामाङका अनुसार हाकुबेँसीदेखि ठूलो हाकुसम्म सडकको दूरी १० किमी रहेको र निर्माण सम्पन्न गर्न करीब रु एक करोड लाग्ने अनुमान गरिएको छ । सदरमुकामबाट पाँच घण्टामा हाकु पुग्न सकिने क्षेत्र भए पनि भौगोलिक विकटताले गर्दा दूरदराजकै रुपमा रहेको हाकु क्षेत्रमा अब सडक निर्माणसँगै गाउँको मुहार फेरिने समाजसेवी कार्साङ तेम्पा तामाङले बताएका छन् ।

खच्चर तथा मानिसद्वारा खाद्य सामग्री ढुवानी गरी आएकामा अबको एक वर्षभित्र मोटरबाटो सम्पन्न हुने अपेक्षा गरिएको स्थानीयवासीले बताए । हाकुमा मोटरबाटो तयार भए पनि त्रिशूली नदीमा पुलको आवश्यक पर्ने छ । सो पुल अपर त्रिशूली १(२१६ मेगावाट जलविद्युत् आयोजना)ले निर्माण गर्ने प्रस्ताव अगाडि बढाएको गाउँपालिकाले जनाएको छ ।

यस्तै ग्रेगाउँ हुँदै नेसिङ –हाकुसम्मको सडक धमाधम निर्माण भइरहेको गापा अध्यक्ष बुचुङले बताएका छन् । जिल्लाका पाँच गाउँपालिकामध्ये गोसाइँकुण्ड गाउँपालिकाको लाङटाङ र आमाछोदिङमो गापाको हाकुबाहेक प्रायः सबै वडामा सडक सञ्जालले छोएको जिल्ला समन्वय समितिका प्रमुख कुलप्रसाद भट्टले बताएका छन् ।

रसुवामा २७ वटा वडा रहेका छन् । हाकु क्षेत्रमा मोटरबाटाको शुरुआत भए पनि लाङटाङ क्षेत्र पर्यटकीय पदयात्रा भएका कारण उक्त क्षेत्रको कुन स्थानसम्म मोटर बाटो लाने भन्ने सम्बन्धमा स्थानीय तह र लाङटाङवासीसँग छलफल भइरहेको प्रमुख भट्ट जानकारी दिएका छन् ।