चितवन–चितवनको शक्तिखोरमा रहेको चुनढुङ्गा निकाल्न प्रयोग गरिएको एक्साभेटरमा शनिबार बिहानै आगजनी गरिएको छ । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका कार्यकर्ताहरुले शनिबार बिहान साढे ३ बजे आगजनी गरेका हुन् ।


ADVERTISEMENT


कालिका नगरपालिका ९ स्थित चुनढुङ्गाको स्टोरमा रहेको एक्साभेटर आगजनी गरेको प्रत्यक्षदर्शीले बताएका छन् । मोटरसाइकलमा आएका दुई जनाले एक्साभेटरमा आगजनी गरेको स्थानीयले बताएका छन् ।


ADVERTISEMENT

# # #


चुनढुङ्गा खानी उत्खनन् गरिरहेको स्टार लाइभ इन्डस्ट्रीले प्रयोग गरिरहेको लुम्बिनी बुद्ध कन्सट्रक्सनको एक्साभेटरमा आगजनी गरिएको हो । आगजनीबाट एक्साभेटरको धेरै भाग जलेर क्षति भएको छ ।

आगजनी गरिएको क्षेत्रमा विप्लव समूहको पर्चा भेटिएको चितवनका प्रहरी प्रमुख सुशील सिंह राठौरले जानकारी बताए । भरतपुर महानगरपालिकाको दमकल ल्याएर बिहानै आगो निभाइएको एसपी राठौरले जानकारी दिए ।

जिल्ला जनपरिषद चितवनको नाममा छोडिएको पर्चामा स्थानीयसँगको सहमति अनुसार काम नगरेको, सडक निर्माण, खानेपानी र बस्ती स्थानान्तरण लगायतका काम नगरेकाले कारर्वाही गरिएको उल्लेख छ । सो चुनखानी अवैध रुपमा सञ्चालन गरिएको भन्दै स्थानीयले समेत विरोध गर्दै आएका छन् ।

आगजनीमा संलग्न व्यक्तिको खोजी भैरहेको प्रहरी प्रमुख राठौरले बताए ।