भक्तपुर(रासस)–सूर्यविनायक नगरपालिकाले व्यक्ति–व्यक्तिको सम्पूर्ण विवरणसहितको नगर प्रोफाइल निर्माण शुरु गरेको छ । सूर्यविनायक नगरपालिका वडा नं ७ स्थित प्रतिनिधिसभा सदस्य, एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले आफ्नै घरबाट नगर प्रोफाइलको तथ्यांक संकलन भएपछि सो अभियानको शुभारम्भ गरिएको हो ।


ADVERTISEMENT


सांसद बस्नेतले नगरपालिकाको विकासका लागि यो प्रोफाइल कोशेढुङ्गासावित हुने बताउँदै प्रोफाइल हेर्नासाथ सूर्यविनायकको विगतदेखि भविष्यसमेत देख्न सकिने भएकाले विकासका लागि यो प्रभावकारी हुने विचार व्यक्त गरेका छन् ।


ADVERTISEMENT

# # #


कार्यक्रममा सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापाले नगरवासीको सम्पूर्ण विवरण ऐनाजस्तै देखिने भएकाले घर घरमा गएर व्यक्ति–व्यक्तिको प्रोफाइल तयार गरिने बताएका छन् । नगरपालिकाका १० वटै वडाध्यक्षको घर घरबाट शुरु भएको तथ्यांक संकलन कार्य सबै वडाका घर घरमा पुगेर संकलन गरिने उनले बताएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी तिमल्सिनाले घर, टोल, व्यवसाय, शिक्षा, रोजगारी, कृषि, प्रविधि, स्वास्थ्य, सहकारी, पशु, सवारी साधन, जग्गा, लालपूर्जा, नागरिकता, व्यक्तिको जन्म, मृत्यु, विवाह, बसाइँ सराइलगायत घरको तस्वीर र नक्सासमेत रहने गरी सम्पूर्ण विवरणसहितको तथ्यांक संकलन गर्दै यसलाई दैनिक अपडेट गर्ने व्यवस्था गरिएको बताएका छन् ।

ड्रोन क्यामराको माध्यमबाट नगरपालिकाको सिंगो डिजिटल नक्सा लिएर थ्रिडी इमेजसहितको नक्सा तयार पारिने, कुन र कसको घर कति डिग्रीमा छ, घर कहाँ पर्छ भन्नेसम्मको सिंगो नगरपालिकाको चित्र आउने गरी प्रोफाइल तयार पारिने भएको प्रशासकीय अधिकृत तिमल्सिनाले बताएका छन् ।

यसका लागि नगरपालिकाले तीन दिनको तालीम सञ्चालन गर्दै ४० जना स्वयंसेवक परिचालन गरेको छ । परिचालित स्वयंसेवकले घर घरमा पुगेर तस्वीर, भिडियोसहितको तथ्यांक संकलन गर्नेछन् ।