ताप्लेजुङ(रासस)–गृहमन्त्री रामबहादुर थापा (बादल)ले मुलुक समृद्धिको आधार नै भौतिक पूर्वाधारको विकास भएकाले यसमा हेलचक्र्याई गर्न नहुने बताएका छन् ।


ADVERTISEMENT


अहिलेको सरकारको प्राथमिकता नै आर्थिक विकास र समृद्धि भएकाले यसमा सबै पक्षले ध्यान दिन जरुरी रहेको बताएका छन् । शनिबार यहाँ मन्त्री थापाले सञ्चारकर्मीसँग कुरा गर्दै विकास निर्माणका काममा ढिलासुस्ती गर्ने ठेकेदारलाई कडाइका साथ कारबाही गर्ने तर्फसमेत सरकार केन्द्रित भएको उल्लेख गरेका छन् ।


ADVERTISEMENT

# # #


उनले मुलुकका कुनै पनि भौतिक संरचनाको निर्माणमा संलग्न रहेर काम पूरा नगर्ने, बीचैमा छाडेर भाग्ने ठेकेदारलाई सम्बन्धित मन्त्रालयले छानबीन गरेपछि कारबाहीका लागि आफ्नो मन्त्रालयले सहयोग गर्ने बताएका छन् ।

प्रशिद्ध तीर्थस्थल पाथिभरा मन्दिर जाने सडक निर्माणमा भएको ढिलासुस्तीका बारेमा समेत चासो राख्दै उनले यस्तो बताएका हुन् । २०७२ को असारमा (कन्काई) कम्पनीले दुई वर्षभित्रै ग्राभेल गर्ने, नाली काट्ने कामसक्ने गरी सम्झौता गरे पनि हालसम्म काम पूरा नभएकोमा सञ्चारकर्मी लगायतले यस विषयमा मन्त्री थापाको ध्यानाकर्षण गराएका थिए ।

यसैबीच मुलुकका विभिन्न सीमा क्षेत्रमा निकट भविष्यमा नै जनशक्ति उत्पादन गरी सुरक्षा व्यवस्था मिलाइने पनि उनले बताएका छन् । अहिलेको जनशक्तिले सबैतिर धान्न नसक्ने भन्दै चाँडै यसको व्यवस्थापन गर्ने तर्फ केन्द्रित भएको उनको भनाइ छ ।

यसअघि आज बिहान जिल्ला प्रशासन कार्यालयको नवनिर्मित भवनको मन्त्री थापाले उद्घाटन गरेका छन् । एकवर्ष अघि करीब रु ६ करोडको लागतमा निर्माण भएको भवनको उनले उद्घाटन गरेका हुन् । सो अवसरमा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले उत्तरी सीमा सुरक्षामा ध्यान दिन आवश्यक रहेको बताएका छन् । ताप्लेजुङ दुबै छिमेकीमूलुक चीन र भारतसँग जोडिएकाले सीमा क्षेत्रको रेखदेख तथा सुरक्षामा ध्यान दिन आवश्यक रहेको भन्दै उनले गृहमन्त्रीको ध्यानाकर्षण गराएका थिए ।

पर्यटन प्रवद्र्धन, जलस्रोत तथा स्थानीय स्रोतसाधनको उपयोग लगायतका हिसाबले ताप्लेजुङ मुलुकै समृद्धिका लागि सम्पत्ति भएकाले यहाँको विकासमा चासो दिन उनले आग्रह गरेका छन् ।

त्यसैगरी मन्त्री थापाले आज बिहान जिल्लास्थित नेपाल कम्युनिष्ट पार्टीका अगुवा कार्यकर्तासँग भेटघाट गर्नुभएको छ । यसअघि उत्तरी नाका ओलाङचुङगोला क्षेत्रको अवलोकन गर्ने कार्यक्रम तय भए पनि मौसमले साथ नदिएकाले मन्त्री थापा संखुवासभाको जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटनका लागि त्यस तर्फ जानुभएको प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसिले जानकारी दिनुभयो ।