गोरखा—भूकम्पले क्षतिग्रस्त मनकामना मन्दिरको पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ । आगामी असोजभित्र मन्दिर तयार पारिसक्ने जीर्णोद्धार समितिले जनाएको छ ।


ADVERTISEMENT


पहिले नै करिब ६ इन्च ढल्किएको मन्दिर २०७२ को भूकम्पछि थप एक फुट ढल्किएको थियो । त्यसपछि मन्दिर पुरै भत्काएर पुनः बनाउन लागिएको हो । २०६७ मा जीर्णोद्घार समिति गठन गरी जीर्णोद्घारको तयारी थालिएकोमा करिब ५ वर्षपछि पूरै भत्काएर बनाउने योजना अघि सारियो ।


ADVERTISEMENT

# # #


मन्दिर भत्काइए पनि नियमित पूजा रोकिएको छैन । २०७२ असारबाट पुनर्निर्माण थालिएको थियो । आगामी असोजसम्म भक्तजनले मन्दिरभित्रै पूजा गर्ने व्यवस्था मिलाउने लक्ष्यसाथ काम भइरहेको समिति संयोजक नरेन्द्रबाबु श्रेष्ठ बताउँछन् । ‘काम धमाधम भइरहेको छ,’ उनले भने, ‘लक्ष्यअनुसारै हामी असोजमा पूरा गरिसक्छौं ।’

पुनर्निर्मित मन्दिरको छानामा सुनको जलप लगाइएको छ । पुनर्निर्माणमा हालसम्म १० करोडभन्दा बढी खर्च भइसकेको छ । भक्तजनबाटै झन्डै ७ करोड रुपैयाँ संकलन भएको संयोजक श्रेष्ठले बताए । मन्दिर पुनर्निर्माण सकिएसँगै गुरुयोजना बनाएर अन्य भौतिक संरचना निर्माणका काम गर्ने सहमति छ । ‘अहिले तल्लो छानामा राख्ने तामाको काम गरिरहेका छौं,’ श्रेष्ठले भने, ‘जीर्णोद्घारको ९५ प्रतिशत काम सकियो ।’