काठमाडौं – सामाजिक तथा पारिवारिक कथामा आधारित नेपाली फिल्म ‘कंगाल करोडपति’को छायांकन सुरु भएको छ।
राजु श्रेष्ठको निर्देशनमा निर्माण भइरहेको फिल्मको छायांकन बुधबार काठमाडौंको गोकर्णबाट थालिएको हो। निर्माण पक्षका अनुसार काठमाडौंमा चार दिन छायांकन गरेपछि फिल्मको टोली चितवनतर्फ जानेछ। फिल्मको सम्पूर्ण छायांकनका लागि ३५ दिनको सेड्युल तय गरिएको छ।
प्रविण आचार्यको प्रस्तुतिमा बन्न लागेको फिल्ममा मुकुन भुषाल, मन्जिल कुमार, सलिना तामाङ, आरती आचार्य, हिउँवाला गौतम, चन्द्रवीर सिंह, अनिल बुढाथोकी, रेयर राई, प्राप्ति श्रेष्ठ, पदम सिं, राजन काथ्री, हरि भण्डारी र भीमसेन खतिवडालगायत कलाकारको अभिनय रहनेछ।
फिल्मलाई सामाजिक तथा पारिवारिक विषयवस्तुमा केन्द्रित गरिएको निर्माण पक्षले जनाएको छ। फिल्मका निर्माता अनिल कुमार बुढाथोकी हुन् भने अश्विन बराल, दिपेश तिरुवा, प्रविन राई, छिरिङ तामाङ र प्रवेश सापकोटा सहनिर्माताका रूपमा रहेका छन्। फिल्मको कथा रामकृष्ण बजगाईंले लेखेका हुन् भने पटकथा तथा संवाद चानस पुन मगरको रहेको छ। रिता श्रेष्ठ तामाङ र सुरज कुमार लाइन प्रोड्युसरमा छन्।
सिनेमा पाठशाला प्रालिको ब्यानरमा निर्माण भइरहेको फिल्ममा हरि घले लामाको छायांकन, देव महर्जनको द्वन्द्व निर्देशन र प्रदीप लामाको नृत्य निर्देशन रहनेछ। फिल्ममा एसडी योगी, निराजन राई र दिप्सन लिम्बूको संगीत रहने निर्माण पक्षले जनाएको छ।
















