पोखरा– “गुहार ! गुहार ! लौन घरमा आगो लाग्यो बचाउ, बचाउ ।” बिहान लगभग ११ बजेतिर पोखराको फूलबारीस्थित मनिपाल शिक्षण अस्पताल नजिकैका सानासाना छाप्रामा आगो लागिरहेको थियो, मानिसहरूको चित्कार सुनिन्थ्यो ।


ADVERTISEMENT


स्याउलाले बारेर टिनले छाएका विभिन्न आठवटा छाप्रामा एकपछि अर्को गर्दै आगो लागिरहँदा मानिसहरू घरका समान झिक्न र आफन्तलाई जोगाउन लागिपरेका देखिन्थे । कोही घर जलेकामा चित्कार गर्दै थिए भने कोही मेरो लालपुर्जा, सम्पत्ति सबै डढ्यो भनेर अलापविलाप गरिरहेका थिए ।


ADVERTISEMENT

# # #


यस्तो दृश्य भइरहँदा उक्त स्थानमा पुगेका कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले तत्काल नगरपालिका, रेडक्रस एवं सुरक्षा निकायलाई निर्देशन गरेसँगै आएका सुरक्षाकर्मी उद्धार सामग्रीसहित उद्धारमा जुटे भने त्यसको केही क्षणमा नै रेडक्रसका प्रतिनिधि एवं दमकल तथा एम्बुलेन्स पनि साइरन बजाउँदै आइपुगे ।

रेडक्रसको टोलीसहित चिकित्सकहरू आगलागीका कारण डढेका, घाइते भएका व्यक्तिलाई तत्काल प्रारम्भिक उपचार गर्दै थिए भने गम्भीर उपचार गर्नुपर्नेलाई एम्बुलेन्समा हालिदै थियो । घर जलेर समस्यामा परेका पीडितका लागि तत्कालै आकस्मिक सेल्टर पनि तयार भइसकेको थियो ।

सुरक्षा निकायका प्रतिनिधिले घटना र पीडितका सम्बन्धमा आवश्यक जानकारी एवं मुचुल्का तयार गरिरहेका देखिन्थे भने प्रशासनिक निकायका प्रतिनिधि स्थानीय तहका पदाधिकारीसँग समन्वय गरिरहेका थिए ।

घटनाका पीडित भेट्दै प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले तत्कालीन राहत स्वरुप केही नगद दिँदै आफूहरू पीडितसँगै रहेको भन्दै नआत्तिन आग्रह गरे । उनीसहित सुरक्षा निकायका उच्च पदस्थ अधिकारी एवं कर्मचारीले सेल्टरमा पुगी अन्य खाद्यान्न तथा राहत सामग्री पनि वितरण गरे ।

जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका प्रजिअ अधिकारीका अनुसार पोखरामा आज मंगलबार भएको यो घटना वास्तविक नभई जिल्ला विपद् व्यवस्थापन समितिको संयोजनमा गरिएको विपद् पूर्वतयारी एवं प्रतिकार्य योजनाको नमूना पूर्वअभ्यास हो ।

आगलागीपछिको उद्धार तथा राहतपश्चात अन्य विपद्का उद्धारको तयारीस्वरुप त्यसैको केही समयपछि भलाम जाने सडक मार्गमा पहिरोले घर पुरिएर एवं भत्केर समस्यामा परेका सर्वसाधारणको उद्धार गरियो भने काली खोलामा बाढीले बगाएका सर्वसाधारणलाई पनि उद्धार गरियो ।

त्यस्तै आजै पोखराको डेभिडफल्समा १८० फिट र ११५ फिट खोचमा परेका व्यक्तिको उद्धारको नमूना अभ्यास पनि गरियो भने फेवातालमा डुबेका मानिसको पनि नमूना उद्धार अभ्यास गरियो ।

वास्तविक जस्तै देखिने प्रत्येक नमूना उद्धार अभ्यास कास्कीमा विपत् परेका अवस्थामा के कसरी गर्न सकिन्छ भनेर गरिएको प्रजिअ अधिकारी बताउँछन्। “आजको अभ्यासमा तीनवटै सुरक्षा निकायमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीका ४०÷४०, नेपाली सेनाका ७० र अन्यकाम गर्ने गरी १६५ जना प्रत्यक्ष खटाइएको थियो,” उनले भने, “प्रशासनिक निकायका कर्मचारी, चिकित्सक, रेडक्रसका प्रतिनिधि एवं सञ्चारकर्मीलगायतको उपस्थितिमा यो पूर्वअभ्यास गरिएको हो ।”

विभिन्न विपद् उद्धारका पूर्वअभ्यास बेलाबेलामा गरिने गरिए पनि एकै दिन पाँचवटा विपद् उद्धार अभ्यास भने नेपालमा नै पहिलोपटक भएको हुन सक्ने प्रजिअ अधिकारीको भनाइ छ ।

कास्की र आसपासका क्षेत्र विशेषतः आगलागी, बाढी पहिरोका साथै फेवाताल र सेतीका खोँचमा मानिसहरू खस्ने गरेका समस्या भएका कारण पाँचवटै पूर्वअभ्यास गरिएको हो ।

यस किसिमको पूर्वअभ्यासले विपद् आइपरेका अवस्थामा गरिनुपर्ने उद्धार तथा राहत र सर्वसाधारणमा पनि सचेतना अभिवृद्धि गर्ने विश्वास लिइएको छ । वासुदेव पौडेल÷रासस