इटहरी– प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले शान्ति र समृद्धि प्राप्ति नै अबको मूल उद्देश्य रहेकाले त्यसका लागि सबैले अझ मिहेनतपूर्वक काम गर्नुपर्नेमा जोड दिएका छन् ।


ADVERTISEMENT


डिभाइन ट्रेनिङ सेन्टर इटहरीले आज इटहरीमा आयोजना गरेको विशेष सम्मान समारोहमा बोल्दै उनले आर्थिक पारदर्शिता कायम गरी सुशासनबाट जनतालाई खुशी तुल्याउने मार्गमा आफू अहोरात्र क्रियाशील रहने प्रतिवद्धता जनाए । जनताको चाहना, भावना र आवश्यकता एवं आकांक्षा पूर्ति गर्नु नै प्रदेश वा केन्द्रीय सरकारको समेत दायित्व रहेकोतर्फ आफूहरु सचेत रहेको पनि उनले उल्लेख गरे ।


ADVERTISEMENT

# # #


सो अवसरमा मुख्यमन्त्री राईसहित विभिन्न व्यक्तित्वलाई सम्मानित गरिएको थियो ।

सोही अवसरमा अर्का सम्मानित व्यक्तित्व विवेकशील साझा नेपाल पार्टीका संयोजक रवीन्द्र मिश्रले देशमा राजनीतिक परिवर्तन भएको झण्डै ३० वर्ष बितिसक्दा पनि असल राजनीतिक संस्कार विकास हुन नसकेको र राज्यद्वारा जनताले ढुक्क भएर विश्वास गरेर काम गर्ने वातावरण बन्न नसकेकाले यही अवस्था हो भने जनताले अर्को परिवर्तन खोजी गर्लान् भनेर सचेत रहनुपर्दछ भने ।

कार्यक्रममा अर्का सम्मानित व्यक्तित्व न्यूरो सर्जन डा यामबहादुर रोक्काले हरेक क्षेत्रले आफ्नो पेशाप्रति इमान्दार भई जनअपेक्षित विषयलाई केन्द्र भागमा राखेर काम गर्न सकियो भने मात्र जनविश्वास बढ्न सक्छ भने ।

डिभाइन ट्रेनिङ सेन्टरकी प्रेमवदा श्रीमालीले उनीहरुलाई जनही रु ५० हजार नगदसहित सम्मानपत्रमार्फत सम्मान गरिन् ।

आफ्नो विधामा उच्चतम सफलता हासिल गर्ने व्यक्तित्वको योगदानको कदर गर्ने गरी इथियोपियाका कर्तव्यपरायण अग्रज नागरिक रोकास जिलिङ्कासको नाममा सो सम्मान स्थापना गरिएको हो ।