तिमी एक्लै छौ भन्ने थाहा पाको
म स्याङ्जाको मायालु झापाको
स्याङ्जालीलाई नभन जाली,
तिम्रो पनि सिउँदो छ खाली,
लान्छु तिम्लाई सिन्दुरै हाली’(खुमन अधिकारी र विष्णु माझी)


ADVERTISEMENT


नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली लोक कलाकारको वर्चस्व देखिएको छ । नेपाली लोकसंगीतका क्षेत्रमा स्याङ्जाली कलाकारहरुले गाएका वा सिर्जना गरेका शब्दहरुले यसको पुष्टि गर्दछ । लोक संगीतका क्षेत्रमा स्याङ्जाका पुराना अग्रज कलाकारमा चन्द्रबहादुर सेन ‘मसाने’, सावित्री शाह, राजेन्द्र लम्साल क्षेत्री, डिलबहादुर श्रेष्ठ, पुरुषोत्तम न्यौपानेलगायत रहेका छन् । स्याङ्जाको हालको कालीगण्डकी गाउँपालिका ५ बलाम बेलटारीमा जन्मिनुभएका लोक तथा दोहोरी गायक पुरुषोत्तम न्यौपानेले १७ वर्षका उमेरमा २०४६ सालमा ‘बलाम देवीथान’ बोलको गीत गाएर रेडियो नेपालबाट स्वर परीक्षा उत्तीर्ण गरेका थिए । हालसम्म ४२ भन्दा बढी एल्बम तथा फुटकर गरी एक हजार बढी गीत संगीतमा उहाँले आवाज दिएका न्यौपानेले राष्ट्रिय गीत, भजन, तीज तथा मगर भाषाका गीत बजारमा ल्याएका छन् । न्यौपानेले स्वर दिएका गीतमा ‘ऐना हेरेर’, ‘मिर्मीमुनि काली थुनेको’ लगायत चर्चित छन् ।


ADVERTISEMENT

# # #


पोखरालाई कर्मथलो बनाएका न्यौपाने राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका पूर्व केन्द्रीय अध्यक्ष र वर्तमान संरक्षक रहेका छन् । “कुनैबेला गीत संगीतको छुट्टै महत्व थियो, पहिला क्यासेटहरु धेरै बिक्ने गर्थे र त्यसैको आधारमा कलाकारहरुले रोयल्टी प्राप्त गर्थे” लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका केन्द्रीय संरक्षक न्यौपानेले भने, “अहिले त्यस्तो छैन, कलाकारहरुले गीत निकालेर चर्चामा आए भने मात्रै विदेश तथा स्वदेशमा हुने मेला महोत्सवका मञ्चमा भाग लिएर आम्दानी गर्न सकिन्छ ।”

हालको चापाकोट नगरपालिका ४ मा जन्मिएर झण्डै १८ वर्षअघि आफ्नै शब्द, संगीत र स्वरमा ‘वालिङ बजारमा’ बोलको गीत अभिलेख गराएर नेपाली लोकसंगीतका क्षेत्रमा पाइला चाल्नुभएका गायक रामजी खाणले आठ हजारभन्दा बढी लोक तथा दोहोरी गीत अभिलेख गर्नाका साथै पाँच सयभन्दा बढी गीतमा अभिनयसमेत गरेका छन् । मेला, महोत्सव तथा विदेशका मञ्चमा प्रस्तुति दिने खाणका धेरै गीत चर्चामा छन् । खाँणले स्वर दिएका गीतमा ‘पछ्यौरी लेऊ बैना’, ‘फूल फूलेर पहेँलै भयो’ लगायत चर्चित छन् ।

कालीगण्डकी गाउँपालिका ५ गुरुङ्दीमा जन्मी २०६२ सालमा ‘ईश्वर पनि देब्रे परेछन्’ बोलको गीत अभिलेख गरेर सांगीतिक क्षेत्रमा उदाएका लोक तथा दोहोरी गायक खुमन अधिकारीले सात हजारभन्दा बढी गीत अभिलेख गराएका छन् । ‘त्यो मन रुन्न होला र’, ‘स्याङ्जालीलाई नभन जाली’ लगायत थुप्रै गीत अधिकारीलाई चिनाउन सफल रहे ।

वालिङ नगरपालिका–४ खाल्टेकी लोक तथा दोहोरी गायिका शर्मिला गुरुङले २०५६ सालमा स्वर परीक्षा उत्तीर्ण गरी लोक तथा दोहोरी, एकल, सालैजो, कौडा गरी हालसम्म तीन हजारभन्दा बढी गीतमा स्वर भरेका छन् ।

गुरुङका ‘मिर्मीमुनि काली थुनेको’, ‘रानीघाटैमा’ लगायत थुप्रै गीत चर्चाको शिखरमा छन् । “नाम चलेका कलाकारहरुलाई खोजी खोजी गीत रेकर्ड गराउने अवस्था बढ्दो क्रममा छ”, गुरुङले भने, “यसले चलेका कलाकारहरुलाई चल्न त सजिलो भएको छ नै तर नवोदित कलाकारहरुलाई भने जीविकोपार्जन गर्न गाह्रो छ ।

अर्कातर्फ पुरुषहरु प्रायः वैदेशिक रोजागारीमा जाने र महिला कलाकारले घर तथा बच्चाबच्ची सम्हाल्नुपर्ने भएकाले रहर भएर पनि कतिपय कलाकार यो पेशाबाट विस्थापित हुने अवस्था आउने गरेको गायिका गुरुङको भनाइ छ ।

स्याङ्जाली माटामा जन्मेर शब्द सिर्जना गर्ने संगीतकार एकनारायण भण्डारीका हालसम्म छ सयभन्दा बढी गीत अभिलेख भएका छन् । गल्याङ नगरपालिका ९ गेझामा जन्मिनुभएका भण्डारीलाई अहिले शब्द सिर्जना गर्न भ्याई नभ्याई छ । भण्डारीसँग शब्द, संगीत र लयका लागि दिनहुँ नाम चलेका कलाकार तथा नवोदित कलाकार आउने गर्छन् । विसं २०५५ मा लोकगायक बुद्धिसागर बस्यालको स्वरमा ‘देउरालीमा हावा चल्यो मनभित्र हुरी’ बोलको गीत भण्डारीको रचनामा अभिलेख भएको पहिलो गीत हो ।

“गीत संगीतको क्षेत्रमा लागेर गीत चल्यो भने नाम र दाम कमाउन सकिन्छ”, भण्डारीले भने, “व्यावसायिक रुपमा आफूलाई स्थापित गर्न कडा मेहेनतको आवश्यकता छ ।” भण्डारीका दोहोरी गीतमा ‘सुपारी चाम्रो’, ‘लालुपाते नुघ्यो भुइँतिर’ लगायत छन् भने ‘तिर्खा लायो पानी खाएँ’, ‘म बाँचेकै तिम्रै लागि हो’ बोलका आधुनिक गीत चर्चित छन् ।

नेपाली लोकसंगीतका क्षेत्रमा अर्को चिरपरिचित नाम पशुपति शर्मा हो । पुतलीबजार नगरपालिकामा जन्मिएका शर्माका धेरै गीत अहिले चर्चामा छन् । शर्माका स्वरमा रहेका ‘क्याम्पस पढ्न आउनी’, ‘मलाई अमेरिका यहीँ’ लगायत धेरै गीत चर्चामा छन् ।

स्याङ्जा जिल्लामा जन्मिएर गीतसंगीतका क्षेत्रमा योगदान दिने अन्य कलाकारमा भगवान भण्डारी, विष्णु माझी, रमेश बिजी, राजु गुरुङ, शिव हमाल, लोकनाथ सापकोटा, शंकरविरही गुरुङ, आधुनिक गायक रुपक डोटेल, बुद्धिसागर बस्याल, सिर्जनाविरही थापा, घनश्याम रिजाल, राजन कार्की, सुजन लम्साल, गोपाल जिटी, अर्जुन गैह्रे, नेत्रप्रसाद पाण्डे, जगन्नाथ न्यौपाने, मधुर गिरी, रोशन गैह्रे, कृष्ण गुरुङ, दीपक भट्टराई, ज्योति न्यौपानेलगायत सयौंँ छन् ।

विरहको गीत मैले गा’छु
छाँगाबाट खसेझैं म भा’छु
मिर्मीमुनि काली थुनेको
अन्तै माया लाइछौ रे मायाले
साँच्चै हो कि हल्ला सुनेको(पुरुषोत्तम न्यौपाने र शर्मिला गुरुङ)

रासस