काठमाडौं–निजी स्रोतमा राखिएका शिक्षकलाई तलबभत्ता खुवाउन जिल्लाको एक सामुदायिक विद्यालयले तरकारीखेती गर्दै आएको छ । पातारासी गाउँपालिका–७ पटमारास्थित महारुद्र आधारभूत विद्यालयमा दरबन्दीभन्दा निजी स्रोतका शिक्षक दोब्बर भएपछि तलबभत्ताको जोहो गर्न विद्यालयले आलुखेती गरेको हो । पाँच रोपनीमा आलुखेती गरिएपछि निजी स्रोतमा राखिएका शिक्षक टिकाउन सहज भएको प्रधानाध्यापक चूडाराज न्यौपानेले बताए ।


ADVERTISEMENT


उनका अनुसार विद्यालयमा शिक्षक दरबन्दी कम हुँदा निजी स्रोतबाट राख्नुपरेको छ । सरकारले दरबन्दीका शिक्षकलाई मात्र तलबभत्ता उपलब्ध गराउँछ । निजी स्रोतका शिक्षकलाई तलब दिन विद्यालयको अन्य आम्दानीले नपुगेपछि तरकारीखेती गरेर रकम जुटाउनुपरेको उनले बताए ।


ADVERTISEMENT

# # #


प्रधानाध्यापक न्यौपानेले भने, ‘यो क्षेत्रमा आलु उत्पादन राम्रो हुन्छ। आलु बेचेर आएको पैसाले निजी स्रोतमा राखिएका शिक्षकलाई तलब दिन्छौं ।’ आलुखेतीबाट बर्सेनि कम्तीमा दुई लाख रुपैयाँ आम्दानी भइरहेको न्यौपानेले बताए । ‘सडकको पहुँच भएकाले बिक्रीवितरणका लागि बजार पुर्याउन सहज छ’, उनले भने, ‘शुक्रबार हुने अतिरिक्त क्रियाकलापमा शिक्षक–विद्यार्थी आलु गोडमेल र संरक्षणमा जुट्छौं । यसले विद्यार्थीलाई व्यावहारिक ज्ञानसँगै विद्यालयको आम्दानीमा सहयोग पुगेको छ ।’ – आजको नागरिक दैनिकबाट