एजेन्सी–बिहिबार देखि हुने २१औं संस्करणको फिफा विश्वकपका लागि आयोजक रूसले विभिन्न ११ सहरमा १२ वटा रंगशाला तयार पारेको छ ।


ADVERTISEMENT


१२ वटामध्ये सबैभन्दा ठूलो रंगशाला लुझ्निकी स्टेडियम हो भने सबैभन्दा सानो कालिनिग्राद स्टेडियम हो । यस्ते सबैभन्दा महंगो रंगशाला क्रिस्टोभस्की स्टेडियम हो ।


ADVERTISEMENT

# # #


हेर्नुहोस् विश्वकप खेलाइने ११ सहरका १२ रंगशालाहरू

१. रोस्तोभ एरिना

विश्वकप फुटबलकै लागि तयार पारिएको नयाँ रंगशाला रोस्तोभ एरिना हो । यसलाई रसियन प्रिमियर लिग क्लब एफसी रोस्तोभले घरेलु मैदानका रूपमा प्रयोग गर्नेछ। यसको दर्शक क्षमता ४५ हजार रहनेछ।

रुस विश्वकपका लागि चार वर्ष लगाएर यो रंगशाला तयार पारिएको हो। सन् २०१४ मा सुरु भएको यो रंगशालाको निर्माणकार्य सन् २०१८ मा सम्पन्न भएको हो।

यो रंगशालामा पाँच वटा खेल खेलाइने छ।

ब्राजिल र स्विट्जरल्यान्ड (जुन १७)
उरूग्वे र साउदी अरेबिया (जुन २०)
दक्षिण कोरिया र मेक्सिको (जुन २३)
आइसल्यान्ड र क्रोएसिया (जुन २६)
जुलाई २ तारिखमा अन्तिम १६ टोलीबीचको एउटा खेल पनि यो रंगशालामा खेलाइनेछ ।
रोस्तोभ एरिना स्टेडियम बनाउन मात्रै लगभग ३३० मिलियन डलर खर्च भएको छ ।

२. कसमस एरिना

विश्वकप फुटबलकै लागि बनाइएको अर्को रंगशाला कसमस एरिना सामरामा रहेको छ। फुटबलसँगै अन्य थुप्रै खेलका भौतिक संरचनासमेत रहेको कसमस एरिनालाई सामरा एरिनाको नामबाट पनि चिनिन्छ। कसमस एरिनामा तयार पारिएको फुटबल रंगशाला भने करिब ४५ हजार दर्शक क्षमताको रहेको छ।

यो एरिना तयार पार्न चार वर्ष समय लागेको थियो। सन् २०१४ मा निर्माणकार्य प्रारम्भ गरिएको कसमस एरिना सन् २०१८ मा तयार भएको हो। यो एरिना तयार पार्न ३२ करोड अमेरिकी डलर खर्च भएको थियो।

आगामी विश्वकपमा यो रंगशालामा ६ वटा खेल खेलाइने छ।

कोस्टारिका र सर्बिया (जुन १७)
डेनमार्क र अस्ट्रेलिया (जुन २१)
उरुग्वे र आयोजक रुस (जुन २५)
सेनेगल र कोलम्बिया (जुन २८)
जुलाई २ तारिखमा अन्तिम १६ टोलीबीचको भिडन्तको एउटा खेल पनि यो रंगशालामा हुनेछ । जुलाई ७ तारिखमा एउटा क्वार्टरफाइनल खेल पनि यो रंगशालामा खेलाइने छ ।

३. निझ्नी नोभगोरोद रंगशाला

यस्तै ४५ हजार दर्शक क्षमताको निझ्नी नोभगोरोद रंगशाला पनि यही विश्वकपका लागि भनेर तयार पारिएको रंगशाला हो । सन् २०१५ मा निर्माणकार्य सुरु गरिएको यो रंगशालाको काम सन् २०१८ मा पूरा भएको थियो ।

विश्वकप सकिएपछि भने यो रंगशालालाई रुसी प्रिमियर लिग क्लब एफसी ओलम्पिएट्स निझ्नी नोभगोरोद क्लबले आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गर्ने बताइएको छ ।

यो रंगशालामा आगामी विश्वकपका ६ वटा खेल खेलाइने छ।
स्विडेन र दक्षिण कोरिया (जुन १८)
अर्जेन्टिना र क्रोएसिया (जुन २१)
इङ्ल्यान्ड र पानामा (जुन २४)
स्विट्जरल्यान्ड र कोस्टारिका (जुन २७)
यसैगरी अन्तिम १६ टोलीबीचको एउटा खेल पनि जुलाई १ तारिखमा एउटा क्वार्टरफाइनल खेल जुलाई ६ तारिखमा यो रंगशालामा खेलाइनेछ ।

४. कलिनिनग्राद रंगशाला

एरिना बाल्टिक’को नामबाट परिचित छ कलिनिनग्राद रंगशालाको दर्शक क्षमता ३५ हजार २ सय १२ रहेको छ । २ वर्ष लगाएर बनाइएको यो रंगशाला विश्वकप फुटबललाई ध्यानमा राखेर बनाइएको हो।

यो रंगशाला बनाउन २५ करोड ७० लाख युरो खर्च भएको छ। जर्मनीको एलियन्ज एरिनाको नक्साका आधारमा यो रंगशाला तयार पारिएको हो ।

यो रंगशाला पोल्यान्डको सीमाभन्दा ४५ किलोमिटर टाढा छ । आगामी जुन १४ देखि सुरु हुने विश्वकप फुटबलका क्रममा यो रंगशालामा समूहगत चरणका चारवटा खेल खेलाइने कार्यक्रम छ ।

जुन १६ – क्रोएसिया र नाइजेरिया
जुन २२ – सर्विया र स्विट्जरल्यान्ड
जुन २५ – स्पेन र मोरक्को
जुन २८ – इङ्ल्यान्ड र बेल्जियम

५. सेन्ट्रल स्टेडियम

एकातेरिनबर्गमा रहेको सेन्ट्रल स्टेडियम रुसको निकै पुराना रंगशालाहरूमध्ये एक हो। यो रंगशाला सन् १९५७ मा बनेको हो। त्यसपछि सन् २००६ देखि सन् २०११ सम्म यो रंगशालाको पुनर्निर्माण गरिएको थियो। यसैगरी आगामी विश्वकपलाई ध्यानमा राखी सन् २०१४ देखि सन् २०१७ सम्म दोस्रो पटक यो रंगशालाको जीर्णोद्धार गरिएको थियो।

सेन्ट्रलन स्टेडियमको दर्शक क्षमता ३५ हजार ६ सय ९६ को छ । फुटबलका अतिरिक्त अन्य खेलसमेत खेल्न मिल्ने गरी तयार पारिएको यो रंगशाला परिसरलाई एकातेरिनबर्ग एरिनाको नामले पनि चिनिन्छ ।

यो रंगशाला ८७ वर्ष पुरानो रसियन प्रिमियर लिग क्लब एफके उरालको घरेलु मैदान पनि हो । सोही कारणले यो रंगशालाको दर्शक बस्ने सिटमा सुन्तला रङको प्रयोग गरिएको छ । रसियन प्रिमियर लिग र रसियन कप फुटबलका अतिरिक्त यो रंगशालामा थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना भइसकेका छन् ।

आगामी विश्वकपमा यो रंगशालामा समूहगत चरणका चारवटा खेल खेलाइनेछ।

जुन १५ – इजिप्ट र उरुग्बे
जुन २१ – फ्रान्स र पेरु
जुन २४ – जापान र सेनेगल
जुन २७ – मेक्सिको र स्विडेन

६. मोर्दोभिया रंगशाला

सन् २०१० मा निर्माण कार्य सुरु गरेर सन् २०१८ पूरा गरिएको ‘मोर्दोभिया रंगशाला’ को दर्शक क्षमता ४४ हजार पाँच सय छ । इनसार नदीको किनारमा निर्माण गरिएको यो रंगशाला निकै मनमोहक छ ।

मोर्दोभिया रंगशाला निर्माण गर्न ३० करोड अमेरिकी डलर खर्च भएको थियो। यो रंगशालाको नक्सा दक्षिण अफ्रिकाको चर्चित ‘सकर सिटी’ स्टेडियम’ का आधारमा जर्मन आर्किटेक्टले तयार पारेका हुन्। मोर्दोभिया रंगशालामा आगामी विश्वकपका चारवटा खेल खेलाइने कार्यक्रम छ।

जुन १६ – पेरू र डेनमार्क
जुन १९ – कोलम्बिया र जापान
जुन २५ – इरान र पोर्चुगल
जुन २८ – पानामा र ट्युनिसिया

७. भोल्गोग्राड एरेना

भोल्गोग्राड सहरको केन्द्र भागमा अवस्थित भोल्गोग्राड एरेना रुस विश्वकपका खेल खेलाइने स्टेडियमहरू मध्येको एक हो । राजधानी मस्कोदेखि नौ सय ४१ किलोमिटर टाढा यो रंगशाला विश्वकपकै लागि तयार पारिएको हो।

झन्डै ४६ हजार दर्शक अट्ने स्टेडियम रुस विश्वकपपछि एफसी रोटोरले आफ्नो घरेलु मैदानको रूपमा प्रयोग गर्नेछ। सुविधासम्पन्न स्टेडियमको भीआईपी बक्समा मात्रै ६ सय ४० तथा त्यसबाहेक चार सय ६० सिट राखिएका छन् । स्टेडियमको मिडिया बक्समा २२ सय ८० सिट राखिएका छन् ।

शारीरिक अपांगता भएका व्यक्तिहरूका लागि मात्रै २४ सहित ४२ वटा इलिभेटर राखिएको स्टेडियममा फिफाले तोकेका सबै मापदण्ड पूरा गरिएका छन्। रुसले भोल्गोग्राड स्टेडियम निर्माण गर्न १७ बिलियन रकम खर्च गरेको जनाएको छ।

भोल्गोग्राड स्टेडियममा रुस विश्वकपका चार खेल खेलाइनेछ ।

जुन १८ – इङ्ल्यान्ड र ट्युनिसिया
जुन २२ – नाइजेरिया र आइसल्यान्ड
जुन २५ – साउदी अरेबिया र इजिप्ट
जुन २८ – पोल्यान्ड र जापान

८. कजान रंगशाला

सन् २०१० मा सुरु गरेर सन् २०१३ मा यो रंगशालाको निर्माण कार्य पूरा गरिएको कजान रंगशालामा ४५ हजारभन्दा बढी दर्शकले खेल हेर्न पाउँछन् ।

यो रंगशाला बाहिर विशाल टेलिभिजन स्क्रिन पनि राखिएको छ, जुन युरोपकै सबैभन्दा ठूलो हो। कजान एरिनामा फुटबल रंगशालासँगै अन्य खेलका सुविधा सम्पन्न भौतिक पूर्वाधार छन्।यो रंगशाला निर्माण गर्न ४५ करोड अमेरिकी डलर खर्च भएको थियो।

यो रंगशालालाई रुसको ‘ए’ डिभिजन फुटबल क्लब रुविन कजानले आफ्नो घरेलु मैदानका रूपमा प्रयोग गर्दै आएको छ ।

यसैगरी सन् २०१७ मा फिफा कन्फिडरेसन्स कप फुटबलको केही खेल पनि यो रंगशालामा खेलाइएको थियो। विश्वकप फुटबलका ६ वटा खेल यो रंगशालामा खेलाइनेछ ।

जुन १६ – फ्रान्स र अस्ट्रेलिया
जुन २० – इरान र स्पेन
जुन २४ – पोल्यान्ड र कोलम्बिया
जुन २७ – दक्षिण कोरिया र जर्मनी
जुन ३० – अन्तिम १६को एक खेल
जुलाई ६ – अन्तिम ८ को एक खेल

९. फिस्त ओलम्पिक

आगामी विश्वकप खेलाइने प्रमुख रंगशालाहरूमध्ये एक हो, फिस्त ओलम्पिक रंगशाला। सोचीमा रहेको यो रंगशालाको दर्शक क्षमता ४१ हजार रहेको छ।

सन् २०१४ मा रुसमा ओयोजना भएको शीतकालीन ओलम्पिक खेलकुद र पारा ओलम्पिक खेलकुदलाई ध्यानमा राखी यो रंगशाला तयार पारिएको हो। शीतकालीन ओलम्पिकको उद्घाटन र समापन समारोह पनि यही रंगशालामा भएको थियो ।

यो रंगशाला निर्माण गर्न ७७ करोड ९० लाख अमेरिकी डलर खर्च भएको थियो। यो रंगशालालाई रुसको राष्ट्रिय फुटबल टोलीले आफ्नो अभ्यास केन्द्रको रूपमा प्रयोग गर्दै आएको छ।

विश्वकप फुटबलमा यो रंगशालामा ६ वटा खेल खेलाइनेछ।

जुन १५ – पोर्चुगल र स्पेन
जुन १८ – बेल्जियम र पानामा
जुन २३ – जर्मनी र स्विडेन
जुन २६ – अस्ट्रेलिया र पेरू
जुन ३० – अन्तिम १६ टोलीबीचको एउटा खेल।
जुलाई ७ – एउटा क्वार्टरफाइनल खेल।

१०. अट्क्रटी (स्पार्टक) रंगशाला

मस्कोमा रहेको ४५ हजार ३ सय ६० दर्शक क्षमताको अट्क्रिटी रंगशाला सन् २०१४ मा निर्माण सम्पन्न भएको हो।

रूसको चर्चित ‘ए’ डिभिडन क्लब स्पार्टक मस्कोले घरेलु मैदानको रूपमा प्रयोग गर्दै आएको यो रंगशाला परिसरमा फुटबलसँगै अन्य थुप्रै खेलका पूर्वाधार पनि रहेका छन् ।

यो रंगशालामा सन् २०१७ मा फिफा कन्फिडरेसन्स कपको लिग चरणका तीनवटा र तेस्रो स्थानका लागि खेल खेलाइएको थियो ।

आगामी विश्वकपका पाँचवटा खेल खेलाइने छ।

जुन १६ – अर्जेन्टिना र आइसल्यान्ड
जुन १९ – पोल्यान्ड र सेनेगल
जुन २३ – बेल्जियम र ट्युनिसिया
जुन २७ – सर्बिया र ब्राजिल
जुलाई ३ – अन्तिम १६ टोलीबीचको एक खेल।

११. क्रेस्तोभ्स्की रंगशाला

आगामी विश्वकप खेलाइने रूसका १२ मध्ये महत्वपूर्ण रंगशाला हो, क्रेस्तोभ्स्की। आगामी विश्वकपलाई ध्यानमा राखी तयार पारिएका रंगशालामध्ये यो निकै महँगो रंगशालामा पर्छ। यो रंगशाला तयार पार्न एक अर्ब अमेरिकी डलरभन्दा बढी खर्च भएको थियो।

यो रंगशालालाई सेन्ट पिटर्सबर्ग रंगशालाको नामबाट पनि चिनिन्छ। ६७ हजार दर्शक क्षमताको यो रंगशाला सेन्ट पिटर्सबर्गस्थित क्रेस्तोभ्स्की आइल्यान्डमा रहेको छ। दर्शक क्षमताको आधारमा आगामी विश्वकप खेलाइने यो दोस्रो ठूलो रंगशाला पनि हो। यो रंगशालालाई रूसी क्लब जेनिट सेन्ट पिटर्सबर्गले आफ्नो घरेलु रंगशालाका रूपमा प्रयोग गर्ने गरेको छ।

सन् २०१७ देखि यो रंगशाला सञ्चालनमा ल्याइएको हो। सोही वर्षको जुनमा यो रंगशालामा फिफा कन्फिडरेसन्स कपका चारवटा खेल खेलाइएको थियो।

यो रंगशालामा सातवटा खेल खेलाइने कार्यक्रम छ।

जुन १५ – मोरक्को र इरान
जुन १९ – रूस र इजिप्ट
जुन २२ – ब्राजिल र कोस्टारिका
जुन २६ – नाइजेरिया र अर्जेन्टिना
जुलाई ३ – एउटा प्रिक्वार्टरफाइनल खेल
जुलाई १० – एउटा सेमिफाइनल खेल
जुलाई १४ – तेस्रो स्थानका खेल।

१२. लुझनिकी रंगशाला

आगामी विश्वकप खेलाइने रंगशालामध्ये एक हो, लुझनिकी रंगशाला। ८१ हजार दर्शक क्षमताको यो रंगशाला रूसको राजधानी मस्कोमा छ ।

यो रूसको सबैभन्दा ठूलो रंगशाला हो भने युरोपकै सर्वाधिक दर्शक क्षमता भएको रंगशालामध्ये पनि एक हो।

सन् १९८० को गृष्मकालीन ओलम्पिक खेलकुदको अधिकांश खेल पनि यही रंगशालामा खेलाइएको थियो। ओलम्पिकको उद्घाटन र समापन कार्यक्रम पनि यही रंगशालामा भएको थियो। त्यतिबेला यो रंगशाला एक लाख तीन हजार दर्शक क्षमताको थियो। यही रंगशालामा सन् १९८२ को अक्टोबर २० तारिखमा यूईएफए कप फुटबलको स्पार्टक मस्को र एचएफसी हार्लिमबीच भएको खेलका क्रममा दुर्घटनामा परी ६६ जना समर्थकको ज्यान गएको थियो।

उक्त दुर्घटनाको लामो समयपछि मात्र यो रंगशालालाई आधुनिक ढाँचामा पुनर्निर्माण गरिएको थियो।

यही रंगशालामा सन् २००८ मा युरोपियन च्याम्पियन्स लिगको फाइनल खेल पनि खेलाइएको थियो। आगामी विश्वकपको उद्घाटन र फाइनलसहित ७ वटा खेल यो रंगशालामा खेलाइनेछ ।

जुन १४ – रूस र साउदी अरेबिया
जुन १७ – जर्मनी र मेक्सिको
जुन २० – पोर्चुगल र मोरक्को
जुन २६ – डेनमार्क र फ्रान्स
जुलाई १ – एउटा प्रिक्वार्टरफाइनल
जुलाई ११ – एउटा सेमिफाइनल
जुलाई १५ – फाइनल