एजेन्सी–उत्तर कोरियाका नेता किम जोंग उनसँग अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ऐतिहासिक भेटघाटमाथि संसारभरबाट मिश्रित प्रतिक्रिया पाइएको छ ।


ADVERTISEMENT


केही देशले उक्त भेटघाटलाई अभूतपूर्व बताउँदै स्वागत गरेका छन् भने कतिले यसमा गरिएका प्रतिबद्धताको आलोचना गरेका छन् । यता दक्षिण कोरियाले भने उक्त भेटघाटले शान्ती र आपसी सहयोगको एक नयाँ अध्यायको आरम्भ गरेको बताएको छ ।


ADVERTISEMENT

# # #


तर अमेरिकाले दक्षिण कोरियासँगको संयुक्त सैन्य अभ्यासलाई समाप्त गरेको घोषणाले भने दक्षिण कोरिया अचम्ममा परेको बताएको छ । यो उत्तर कोरियाको एक प्रमुख माग पनि थियो । चीनले दुबै नेताको भेटवार्ताले उत्तर कोरियामाथि लगाइएको प्रतिबन्धमा राहत हुनसक्ने अनुमान गरेको छ ।

यता इरानले भने उत्तर कोरियाले अमेरिकामाथि विश्वास गर्न नहुने बताएको छ । राष्ट्रपति ट्रम्पले इरानसँग भएको परमाणु सम्झौताबाट अमेरिकालाई अलग्गाइसकेका छन् । रुसले पनि यस्तै प्रकारको चेतावनी दिएको छ । जबकी जपानले उक्त भेट एक ‘सुरुवात’ भएको बताएको छ ।

दक्षिण कोरियामा बेलायती राजदूत वारविक मौरिसका अनुसार राष्ट्रपति ट्रम्प र उत्तर कोरियाली नेता किम जोंग उनले जुन सम्झौतामा हस्ताक्षर गरेका छन, त्यसमा स्पष्टताको कमी छ तर दुबैले भेट गरेका छन्, त्यो नै ठूलो कुरा हो ।

यस्तै, अमेरिकी सिनेटमा डेमोक्रेटिक पार्टीका नेता चक शूमरले किम जोंग उनसँग राष्ट्रपति ट्रम्पको भेट त्यतिबेला मात्र सफल हुनेछ जब यसले कुनै ठोस् नतिजा निकाल्नेछ ।

अर्कोतर्फ, एक वरिष्ठ रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमका अनुसार उत्तर कोरियामार्फत चीन, अमेरिकासँग खेल्ने कोसिस गरिरहेको छ । उनले दक्षिण कोरियाबाट अमेरिकी सैनिकलाई फिर्ता बोलाउने कुनै पनि सम्झौताको विरोध गरेका छन् ।