काठमाडौं–उर्लाबारी ५ मोरङका ध्रुवचन्द्र पराजुलीले सञ्चालन गरेको ओजन पानी उद्योगमा सिलबन्दी गरिएको छ । क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय विराटनगर मोरङको टोलीले उर्लाबारी – ६ स्थित आरके इण्डष्ट्रिज प्रालीले उत्पादन गर्दै आएको ओजन पानी उद्योगमा शुक्रबार दिउँसो सिलबन्दी गरेको हो ।


ADVERTISEMENT


उद्योग मापदण्ड विपरीत रहेको भन्दै सिलबन्दी गरिएको गुण नियन्त्रण कार्यालय मोरङले जनाएको छ । पानी उद्योग मापदण्ड विपरीत सञ्चालन भइरहेको पाइएपछि सिलबन्दी गरिएको कार्यालयका खाद्य निरीक्षक प्रेम अर्यालले सेतोपाटीलाई जानकारी दिए ।


ADVERTISEMENT

# # #


क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालय मोरङसहित जिल्ला प्रशासन कार्यालय मोरङ र पानी व्यवसायी संघ मोरङको टोलीले पानी उद्योगको अनुगमन गर्ने क्रममा मापदण्ड विपरीत भेटिएपछि उद्योगमा सिलबन्दी गरेको जनाएको छ । ओजन पानी उद्योगले न्यूनतम मापदण्डसमेत पुरा नगरी पानी उत्पादन गर्दै आएको थियो ।

ओजन पानीमा लेदो भेटिएपछि दुई दिन अघि स्थानीय एक उपभोक्ताले इलाका प्रहरी कार्यालय उर्लाबारीमा लिखित उजुरी दिएका थिए । उजुरीको आधारमा जिल्ला प्रशासन कार्यालयले क्षेत्रीय खाद्य तथा गुण नियन्त्रण कार्यालयलाई अनुसन्धान गर्ने जिम्मा दिएको थियो । अनुसन्धानकै क्रममा पानी पिउन योग्य नरहेको पुष्टि भएपछि उद्योगमा सिलबन्दी गरिएको जिल्ला प्रशासन कार्यालय, मोरङका नायव सुब्बा केदार घिमिरेले बताए

‘हामीले पटक–पटक अनुगमन गर्दा यो उद्योग मापदण्ड विपरीत नै सञ्चालन भइरहेको पायौं । मापदण्डविपरीत भएपछि सिलबन्दी गर्नुपरेको हो,’ घिमिरेले भने ।