वीरगञ्ज– बुहारी र नातिनी जलाएर मार्न खोजेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । प्रहरीले पर्साको धोबिनी गाउँपालिका–३, हरिहरपुर घर भएका ५५ वर्षीय लक्ष्मीप्रसाद साह कानु र उनका १९ वर्षीय छोरा मुनाकुमार साहलाई जलाएर मार्न खोजेको आरोपमा पक्राउ गरेको हो ।


ADVERTISEMENT


पर्सा प्रहरीले लक्ष्मीले मुनाको सहयोग लिएर आफ्नै छोरा सञ्जयकुमार साहकी पत्नी सञ्जु देवी र उनकी ८ महिनाकी छोरी रियालाई जलाएर मार्न खोजेको आरोपमा पक्राउ गरेको जनाएको छ ।


ADVERTISEMENT

# # #


आगोले सञ्जु देवी र नाबालिका घाइते छन् । उनीहरुलाई नारायणी उपक्षेत्रीय अस्पतालमा उपचारपछि थप उपचारका लागि कीर्तिपुर अस्पतालमा रिफर गरिएको छ । घरायसी विवादमा ससुरा लक्ष्मीप्रसादले देवर मुनाको सहयोगमा आफ्नो र छोरीको शरीरमा आगो लगाएर हत्या गर्ने प्रयास गरेको आरोप सञ्जुले लगाएकी छन् ।

उपचारमा संलग्न चिकित्सकका अनुसार छोरीको अवस्था गम्भीर छ । सञ्जु देवीको घाँटीमा धारिलो वस्तुले काटेको घाउ छ । त्यस्तै उनको छाती, गाला र दुवै हात आगोले पोलेको छ । लक्ष्मी प्रसादलाई प्रहरीले नारायणी उपक्षेत्रिय अस्पताल परिसरबाटै नियन्त्रणमा लिएको छ । सासु भने फरार छिन् ।

प्रारम्भिक बयानका क्रममा घाइते महिलाले ससुराले नै देवरसँग मिलेर आफू र छोरीलाई कुटपिट गरी जीउमा आगो लगाएर मार्ने प्रयास गरेको आरोप लगाएको जिल्ला प्रहरी कार्यालय, पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक राजन लिम्बुले बताए । सञ्जुका अनुसार सुतिरहेका बेला शुक्रबार बिहान तीन र चार बजेतिर अचानक आएका ससुराले कुटपिट गर्दै आफ्नो र छोरीको जीउमा आगो लगाएर मार्ने प्रयास गरेका थिए ।

स्थानीयका अनुसार सञ्जुको पति सञ्जयसँग राम्रो सम्बन्ध थिएन । जसका कारण घरपरिवारका सदस्यसँग पनि उनको कुराकानी कमै हुने गरेको थियो । सञ्जय नेपाल प्रहरीमा काभ्रे जिल्लामा कार्यरत छन् ।

तर सञ्जुका ससुरा र देवरले भने सञ्जु देवी आफैंले छोरी र आफनो जीउमा आगो लगाएर आत्महत्याको प्रयास गरेको दावी गरेका छन् । सञ्जु देवीले आफ्नो र दूधे बालकको जीउमा आगो लगाएलगत्तै छिमेकीको सहयोगमा बुहारी र नातिनीको उद्दार गरेर नारायणी अस्पतालमा उपचारका लागि ल्याएको उनीहरुको भनाइ छ ।

प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।