नेपाली कांग्रेसको भातृ संगठन नेपाल तरुणदलका अध्यक्ष जीतजंग बस्नेतसंग हिमालय पोष्टले गरेको बिशेष कुराकानी


ADVERTISEMENT


 

पछिल्लो समय केमा व्यस्त हुनुहुन्छ ?


ADVERTISEMENT

# # #


हामीले नगरकोटमा जिल्ला अध्यक्षहरुको सभा र प्रशिक्षण कार्यक्रम सम्पन्न गरेका छौँ । प्रदेश, जिल्ला र वडास्तरमा लगभग ७५ प्रतिशत प्रशिक्षण कार्यक्रम हामीले सकेका छौँ । यो भनेको संगठन विस्तारको रणनीति हो । यसबाट हामीलाई उर्जा पनि प्राप्त भएको छ । संगठनलाई सुदृढीकरण गर्न यसले मद्धत पुगेको छ । अन्य पार्टीका भातृसंगठनले केही नगरिरहेको सन्दर्भमा तरुणदल भने वडा वडामा, गाउँगाउँमा गएका छौँ । केपी ओली सरकारले गरेका पछिल्ला निर्णयका विरुद्ध तरुणदल पहिलो पटक सडकमा उत्रिएको छ । चर्को मूल्यवृद्धिका विरुद्धमा कडा रुपमा हामी उत्रिएका छौँ । आगामी दिनमा सडक नेपाल तरुण दलको कब्जामा हुन्छ ।

तपाईले प्रशिक्षणका क्रममा गाउँ गाउँ पुग्यौँ भन्नु भयो । त्यहाँ गएपछि प्रतिक्रिया के पाउनु भयो त ?

तरुण दलको प्रमुख एजेण्डा भनेको आफु बलियो हुने हो । संगठनको कुराहरु आम कार्यकर्ताहरुलाई थाहा हुनुपर्यो । केन्द्र कसरी अगाडी बढ्दैछ ? जिल्ला कसरी अगाडी बढ्दैछ ? भन्ने कुरा थाहा दिनलाई हामीले त्यो गरेका हौँ । महत्वपूर्ण कुरा के हो भने नेपाली कांग्रेस र तरुण दलको बारेमा बुझाउनु पनि हो । हामी कांग्रेसका भातृ संगठन मात्र नभई साथी संगठन पनि हौँ । तर पार्टीको विचार, एजेण्डाहरु हामीले तल्लो स्तरका जनतासम्म पुर्याउन सकेनौँ ।

हामीले दुई पटक संविधान बनायौँ । त्यो कुरा जनतालाई भन्न सकेनौँ । विदेशी शक्तिको दवाबको बावजुत सुशिल कोइराला नेतृत्वको सरकारले संविधान बनायो । यस्तै शेर बहादुर देउवाले त्यसको सफल कार्यान्वयनका लागि आफू हार्ने थाहा हुँदाहुँदै पनि तीनै चरणका निर्वाचन सम्पन्न गर्नुभयो । मधेशमा आन्दोलन चर्किरहँदा पनि शान्तिपूर्वक ती कामहरु गरिए । यी कुराहरु हामीले राख्न सकेनौँ । अब आगामी दिनमा नेपाली कांग्रेसका सम्पूर्ण एजेण्डाहरु जनतामा लैजाने दायित्व हामी निर्वाह गर्छौँ । प्रशिक्षणबाट पनि नेताहरु एक हुनुपर्छ भन्ने कुरा आएको छ र यसका लागि हामी पार्टीलाई आवश्यक सहयोग गर्छौँ । तरुण दलका अन्य एजेण्डा त छँदैछन् ।

नेपाली कांग्रेसलाई आम जनतामा जोड्नका लागि तरुण दलको अबको भूमिका के हुन्छ ?

पहिलो कुरा त हामी आफु बलियो हुनुपर्यो । पहिले आफुमा भएका विकृति विसंगती हटाउनु पर्यो । जुन युवा संगठनमा विकृति विसंगति देखिएका छन्, ती हट्नुपर्यो । त्यसका लागि नेपाल तरुण दल प्रयास गरिरहेको छ र हटिसकेको पनि छ । पार्टी भन्दा बाहिर रहेका जसले राजनीतिमा विश्वास गर्छन् तिनीहरुलाई आकर्षित गर्नलाई हामीले काम गरेर देखाउनु पर्छ । त्यो भनेको के हो भने आम नेपाली जनताको भावना बुझ्ने काम गर्न तरुण दलले सक्नुपर्यो । समाजमा देखिएको विकृति, विसंगति हटाउन कोशिस गर्दै अन्याय र अत्याचार तथा भ्रष्टाचारका विरुद्धमा आन्दोलन अगाडि बढाउनुपर्यो । यसका लागि तरुण दल आवश्यक कदम चाल्छ । जनताका हक र अधिकारका लागि हामी सँधै लडिरहने छौँ ।

सरकारका गतिविधिलाई कसरी विश्लेषण गरिरहेको छ तरुण दलले ?

निर्वाचनका बेलामा आम जनताले एमाले र माओवादीभन्दा पनि केपी ओलीलाई हेरेर मत दिएको हो । उहाँले राष्ट्रवादी कुरा गर्नुभयो । त्यो हामीलाई खोक्रो लाग्यो होला, हामीले उखान टुक्का भन्यौँ, तर जनताले राम्रो मानेर मत दिए होलान् । भोलिका दिनमा त्यो खोक्रो हो कि सही हो त्यो थाहा भइहाल्छ । उहाँसंंग अब स्पष्ट बहुमत छ । देश बनाउनकै लागि जनताले दुई तिहाई मत दिएका हुन् । तर केही कुराहरुमा उहाँ अझैँ पनि अधिकार खोजिरहनु भएको छ । जस्तो सम्पत्ति शुद्धिकरण, राजश्व अनुसन्धान लगायतका निकायलाई आफ्नो मातहतमा ल्याउनु भएको छ । यो राम्रो कुरा होइन ।

यदि उहाँ साच्चि नै प्रजातान्त्रिक हुनुहुन्थ्यो भने यी निकायलाई स्वतन्त्र बनाउनु हुन्थ्यो । तर उहाँले विपक्षीलाई प्रहार गर्नका लागि यी कुराहरु गर्नुभएको छ । जुन कुरा न्यायालयमाथि भएको हमलाले देखाइसकेको छ । संवैधानिक बाटोबाट नगई एउटा सचिवले चिठी लेखेर उमेरको हदबन्दी भन्दै प्रधानन्यायाधीशलाई बर्खास्त गरिदियो । त्यस्तै प्रेस स्वतन्त्रताको कुरा गर्ने तर एउटा मन्त्रीसंग प्रश्न सोध्दैमा कार्यक्रम नै बन्द गराई दिनेसम्मका कामहरु भएका छन् । यसमा अन्य प्रेसहरु पनि चुप लागिरहँदा तरुण दलले त्यसको विरोध गर्यो । दुई तिहाई मत छ भन्दैमा संविधानलाई मिचेर विपक्षी र जनतामाथि थिचोमिचो गर्न पाईँदैन । सरकारका यस्ता नकारात्मक कदमका विरुद्ध हामी सडकमा उत्रिन्छौँ ।

यसअघि पनि तपाईहरुले विरोधका कार्यक्रम गर्नु भएकै हो । अब कसरी सडकमा उत्रिनु हुन्छ ?

हामी प्रशिक्षण कार्यक्रम गरिरहेकै बेलामा पनि पुलिस प्रशासनले हाम्रा साथीहरुमाथि धरकपट गरिरहेको छ । तर हामी बन्दुकदेखि डराउन्नौँ । हिजो पनि राणाले बन्दुक नै निकालेको हो । राजाले पनि बन्दुक नै निकालेको हो । यस्तै माओवादीले पनि बन्दुक निकालेर हामीलाई हानेका हुन् । तर आखिर बन्दुकको आडले लेडेकाहरुले घुँडा त टेक्नु पर्यो नि । कांग्रेसभित्र झगडा छ, जनताले मत दिएका छैनन् भनेर पेलेर जानुपर्छ भन्नु दिवास्वप्न मात्रै हो ।

सानो छँदा यति रुपैया तोला सुन थियो भनेर हावादारी कुरा गर्न मिल्दैन । अन्तराष्ट्रिय बजारमा यस्तो भएकाले मूल्य वृद्धि भएको हो भनेर स्पष्ट कुरा गर्न सक्नु पर्यो नि । तर हिजोका दिनमा मूल्यवृद्धि हुँदा कराउने अहिले आफू आउँदा हावादारी कुरा गर्न सुहाउँदैन । यसको विरुद्धमा तरुण व्यापक विरोध गर्छ । अब सडक हाम्रो हो । जे गर्नु पर्छ सडकमा नै गएर गर्ने हो । सरकारले गरेका नकारात्मक क्रियाकलापका विरुद्धमा सडक तताउने काम गरिन्छ ।

यसका लागि त तपाईहरुको संगठनभित्र पनि एकता हुनुपर्यो । तरुण दल आफै पूर्ण कहिले हुन्छ ?

यो एकदमै महत्वपूर्ण प्रश्न हो । केन्द्रमा हामी चार जना छौँ । अध्यक्ष भएर संगठन पूर्ण नभएकोमा म आफै जिम्मेवारी लिन्छु । जिल्ला, नगर सबै क्षेत्रमा हाम्रा कमिटीहरु पूर्ण छन् । त्यही भएर नै हामीले प्रशिक्षण कार्यक्रम गरेका हौँ । केन्द्रको निर्देशनको भूमिका भएकाले हामीले नीति निर्माण गरेर त्यसको आवश्यक निर्देशन दिने हो । केन्द्रीय सदस्यमा आउन चाहने साथीहरुलाई म स्वागत पनि गर्न चाहन्छु । तत्कालिन राजनीतिक कारणले त्यो हुन सकेको छैन । तर सडकमा जान यसले रोक्दैन ।

भनेपछि यसले पूर्णता चाँडै पाउँछ ?

यसले महासमिति अगाडि नै पूर्णता पाउनुपर्छ भन्ने कुरा हो । मैँले आज भोलि नै भए पनि हुन्छ भनिरहेको छु । कुरा तपाईहरुलाई थाहा नै छ । तर म आफ्नो जिम्मेवारीबाट भागेको छैन ।

अन्त्यमा, दुई कम्युनिस्टहरु एक भएका छन् । यसलाई तरुण दलले कसरी हेरेको छ ?

म त केपी ओली र प्रचण्ड दुबैलाई शुभकामना दिन चाहन्छु । दुईवटा पार्टी एक गर्नुभएको छ । अब जंगलमा रहेको कम्युनिस्टहरु र सदनमा रहेका साना कम्युनिस्टलाई पनि एक गर्नुस् भनेर शुभकामना दिन्छु । त्यो भयो भने यिनीहरुले देशमा कम्युनिस्ट व्यवस्था ल्याउँछन् र नेपाली कांग्रेसले त्यसको विरुद्धमा आन्दोलन गर्नुपर्ने हुन्छ । र त्यसपछि नेपालमा कम्यनिस्टहरु रहँदैनन् । किनकी हामीले थुप्रै म नै हुँ भन्नेलाई पनि पाखा लगाइसकेका छौँ । यिनीहरु छरिएर रहेमा के हुने भयो भने कम्युनिष्टहरुसंग जहिले पनि लडाई हुने भयो । अर्को पुस्ताले कम्युनिस्टसंग लडिरहनुपर्ने भयो । त्यो भएर नेपाली कांग्रेसले पनि एकता बनाउन पहल गर्नु पर्ने हुन्छ र कम्युनिस्टहरुसंगको लडाई हामी जित्ने छौँ ।