हैदराबाद – भारतमा जारी दशौँ संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल)को उपाधिका लागि फाइनल खेल आज हुने भएको छ । उपाधिका लागि आज साँझ हैदराबाद स्टिभ स्मिथको कप्तानीमा रेहेको राइजिङ पुने सुपरजायन्ट र रोहित शर्माले कप्तानी सम्हालेको मुम्बई इन्डियन्सबीच प्रतिस्पर्धा हुँदै छ ।
गत वर्ष पुनेले आठ टिमले भाग लिएको ट्वान्टी–२० प्रतियोगिता सातौँ स्थानमा रहेर अन्त्य गरेको थियो । तर पुने यस पटक आइपिएल इतिहासमा पहिलो पटक उपाधि जित्ने अभियानमा छ । सिजनमा पुनेले मिश्रित खालको सुरुआत गरेको थियो ।


ADVERTISEMENT


पुनेले सिजनमा इङ्ल्यान्डका अलराउन्डर बेन स्टोक्सलाई प्रमुख हतियारको रूपमा प्रयोग गर्यो । र स्टोक्सले आफूलाई प्रतियोगितामा महत्वपूर्ण खेलाडीको रूपमा प्रमाणित पनि गरे । बल र ब्याट दुबैमा स्टोक्सको उत्कृष्ट प्रदर्शनले पुनेलाई प्लेअफसम्म पुग्न सहयोग गरेको थियो । तर मुम्बईविरुद्धको पहिलो प्लेअफमा ‘वान म्यान आर्मी’ स्टोक्सभन्दा युवा बलर वासिङ्टन सुन्दरले खेलको निर्णयमा प्रभाव पारे ।


ADVERTISEMENT

# # #


खेलको नायक बनेका सुन्दरले तीन विकेट लिएपछि पुनेले जित हासिल गरेको थियो । नकआउटअघि राष्ट्रिय टोलीको बन्द प्रशिक्षणमा गएका स्टोक्सको अभावलाई अब सुन्दरले बिर्साउने अनुमान गरिएको छ ।

गुजरातसँगै पुनेको दुईवर्षे यात्रा महँगो लिग खेल्ने यो अन्तिम सिजन पनि हुन सक्छ । आइपिएल आयोजना गर्ने काउन्सिलले दुई टोलीलाई गरेको कारबाही यसै महिना नबढाउने निर्णय गरिसकेको छ । चेन्नाइ सुपर किङ्स र राजस्थान रोयल्सले अर्को वर्षको संस्करणमा फर्कने भएका छन् । सन् २०१३ को आइपिएलमा दुई टोली चेन्नाई र राजस्थान ‘स्पट फिक्सिङ’ संलग्न भएका कारण निलम्बनमा परेका थिए ।

सिजन सुरुआतमा महेन्द्रसिंह धोनीको स्थानमा स्मिथले पुनेको नेतृत्व गर्ने अवसर पाए । स्मिथ टोलीलाई सफलता दिलाउनमा केन्द्रित भएका थिए । स्मिथले आइपिएल सिजनको १४ खेलमा ४ सय २१ रन जोडेका छन् । मुम्बईलाई हराएपछि स्मिथले टोलीले सही समयमा उच्च स्तरको प्रदर्शन गरेको बताएका थिए । फाइनलमा स्थान बनाएपछि उनले भने, ‘प्रतियोगिताको सही समयमा हामीले आफ्नो प्रदर्शन माथिल्लो स्तरको गर्न सक्नुपर्छ । अहिले हामीले पाएको सफलताजस्तै । हाम्रा लागि यो साँच्चिकै रोमाञ्चक समय हो ।’

भारतीय टोलीका सफल कप्तान एवम् विकेटकिपर धोनीको उपस्थिति नै विपक्षीमाथि दबाब राख्न पर्याप्त हुन्छ । तर प्लेअफमा भने धोनीले पुनः एक पटक उत्कृष्ट ब्याटिङ गर्दै आफूमा खेल परिवर्तन गर्न सक्ने क्षमता भएको प्रमाणित गरे । उनले २६ बलमा अविजित ४० रन बनाउँदै पुनेको स्कोरलाई माथि उकासेका थिए ।

धोनीको उपस्थितिले कप्तान स्टिभ स्मिथलाई सहयोग पुगेको भारतीय क्रिकेट टोली पूर्वकप्तान सुनील गावस्करले द टाइम्स अफ इन्डियामा लेखेका छन् । सुनिलले भने, ‘स्मिथले उत्कृष्ट रूपमा टोलीको नेतृत्व गरिरहेका छन् । तर उनलाई धोनीबाट ठूलो सहयोग भइरहेको छ ।’ तीव्र गतिका बलर जयदेव अनाडकटसँगै पुनेको बलिङ आक्रमणलाई बलियो बनाउन डान क्रिस्टियन, स्पिनर अदाम जाम्बा र सुन्दरले साथ दिइरहेका छन् ।

तर रोहित शर्माको कप्तानीमा रहेको दुई पटकको विजेता मुम्बईले दोस्रो प्लेअफमा कोलकाता नाइट राइडर्सलाई हराउँदै आफनो आत्मविश्वासलाई कम हुन दिएको छैन । मुम्बईले सिजनमा यो सिजनसमेत गरी चौथो पटक फाइनलमा प्रतिस्पर्धा गर्न गइरहेको छ । सिजनमा मुम्बईले १६ खेलमा ११ मा जित हासिल गरेको छ । ‘हामीले साँच्चिकै कडा मेहनत गरिरहेका छांैं । हामी कठिन रूपमा फाइनलमा पुगेका छौं । हाम्रा लागि उत्कृष्ट दिन थियो । यसले हामीलाई धेरै आत्मविश्वास दिएको छ’, शुक्रबार राति कोलकातालाई हराएपछि शर्माले भने, ‘पुनेविरुद्ध हाम्रो राम्रो रेकर्ड छैन । एउटा थप बाधा हो ।’ सिजनमा पुनेविरुद्ध खेलेका तीनै खेलमा मुम्बई पराजित भएको छ ।

सन् २०१३ र २०१५ को विजेता मुम्बईसँग केही महत्वपूर्ण विदेशी खेलाडी छन् । जसले खेललाई मुम्बईको पक्षमा पार्न भूमिका खेल्ने गरेका छन् । ‘बिग हिटर’ को रूपमा चिनिएका किरन पोलार्ड र न्युजिल्यान्डका तीव्र गतिका बलर मिचेल म्याकक्लिगनले मुम्बई टोलीबाट खेल्ने गर्छन् । शर्मासँगै विकेटकिपर ब्याट्सम्यान पार्थिव पटेलले प्रतियोगितामा राम्रो सुरुआत गर्ने गरेका छन् । तर वेस्ट इन्डिजका पोलार्ड र शर्माले प्रतियोगितामा अझ राम्रो गर्न कोसिस गरिरहेका छन् । भारतीय बलर जसप्रीत बुमराहले उत्कृष्ट डेथ बलिङ गरिरहेका छन् । मुम्बईका जसप्रीतको बलिङमा एकरूपता छ ।