– रमेशजंग रायमाझी, राष्ट्रिय सभा सदस्य, नेपाली काँग्रेस


ADVERTISEMENT


राष्ट्रिय सभाको ६ वर्षको कार्यकालका लागि चुनिनु भएको छ । बधाई । केमा व्यस्त हुनुहुन्छ ?


ADVERTISEMENT

# # #


पार्टीको संगठनका कार्यक्रम पनि भइरहेको छ । जिल्लाहरुमा गाउँ र नगर परिषद् चलिरहेको छ । आर्थिक वर्षको अन्तिम समय भएकाले छुट्याएको बजेटको सदुपयोग भयो कि भएन भनेर त्यसको निरीक्षण गर्ने काम पनि भइरहेको छ । यस्तै सदनमा बैठक पनि चलिरहेको छ । यिनै कामहरुमा ब्यस्त छु ।

कांग्रेस अहिले प्रमुख प्रतिपक्षीको भूमिकामा छ । तपाई राष्ट्रिय सभामा कांग्रेसका तर्फबाट प्रतिनिधि हुनुहुन्छ । तर सरकार त एक किसिमले प्रतिपक्षी नै देखिरहेका छैनौँ भनिरहेको छ । यसमा के भन्नुहुन्छ ?

विपक्षी भूमिकामा आफु हुँदा खुसी ठान्ने तथा सत्ता चलाउने खासै अनुभव पनि नभएका उनीहरुलाई अहिले पनि ‘ह्याङओभर’ छ । संविधान सभाको निर्वाचन पश्चात चारजना कम्युनिस्ट नेताहरु प्रधानमन्त्री बने । तर संविधान बनाउन सकेनन् । संविधान लेख्न पनि कांग्रेसको नेतृत्व आवश्यक पर्यो । त्यस कारण उनीहरुसंग विरोध गर्ने शैली मात्रै छ । काम गर्ने शैलीमा परिपक्व छैनन् भन्ने देखिसकिएको छ । अहिलेको बजेट देखिरहनु भएको छ । महंगी देखिरहनु भएको छ । कम्युनिस्ट सरकारमा गरिब जनताका ढाड सेक्ने काम हुन्छ, यसको मर्का त सकैलाई परेको छ ।

नेविसंघले मूल्यवृद्धिको विरोध गर्दा पुलिस लगाएर पार्टी कार्यालयबाट विद्यार्थीलाई निकालेर पिट्ने सरकार जनताका पक्षमा काम गरिरहेको छ कि कालो बजारियासंग मिलेर धन कमाउनमा व्यस्त छ भन्ने कुरा देखिसकिएको छ । संघीय संसदभित्रको हाम्रो भूमिका के हो भन्ने कुरा सत्तापक्षका सांसदलाई थाहा छैन । सत्तापक्षकै सांसद नै मन्त्रीलाई जेल हाल्नु पर्छ भनेर बोल्छन् । संसदीय व्यवस्थाको यो भन्दा ठूलो दुर्भाग्य के हुन सक्छ ? प्रतिपक्षीका कुरा पनि सत्तापक्षले उठाइरहेका छन् । यसबाटै बुझिन्छ कि कम्युनिस्टले संसदीय व्यवस्थालाई कसरी बुझेको छ भनेर । संसदमा कांग्रेस कुर्सी फुटाउन, माइक भाँच्न गएको होइन । हामीले आफ्नो काम गरिरहेका छौँ ।

सरकारका गतिविधि प्रति कांग्रेस कत्तिको सन्तुष्ट छ ?

हामीले भन्दा पनि जनताले हेरिरहेका छन् नि । कम्युनिस्ट के रहेछन् भन्ने कुरा जनताले मूल्याङ्कन गर्न थालिसकेका छन् । दुई तिहाईको सरकार बन्दा पनि मानिसहरु भन्न थालिसके कि यो सरकार कहिले ढल्छ ? उनीहरुकै पार्टीका कार्यकर्ताले भन्न थालिसके, मन्त्रीहरु नै जुहारी खेलिरहेका छन् । एउटा छुटाउँछु भन्छ, अर्को थुन्छु भन्छ । प्रतिपक्षीसंग कसरी प्रस्तुत हुने भन्ने कुरा प्रधानमन्त्रीलाई समेत थाहा छैन । नियम र कानुनले सबैलाई बाँधेको हुन्छ । त्यो मर्यादा भन्दा बाहिर गएर हामी सदनमा पनि बोल्न सक्दैनौँ । मन्त्रीले त कानुनी हिसाबमा कुनै ठेकेदारले गल्ती गर्यो भने कारबाही गर्नुपर्ने हो । मन्त्रीले भाषणमा म तँलाई थुन्छु भनेर धम्क्याउने अनि ठेकेदारसंग पैसा माग्ने ? यस्तो काम गर्नु हुँदैन ।

एउटा पुलिसको एसपीको कथा सुनेको थिएँ । एउटा एसपी एउटा जिल्लामा सरुवा गरेर गएछ । एकदम इमान्दार भएर सबै ठाउँमा कडाई गरेछ । साधारण मानिसले एकदम इमान्दार पुलिस आएछ भनेर राम्रै मूल्याँकन गरे । तर त्यसको एक महिनापछि जसबाट पाँच लाख लिन्थ्यो, त्यसबाट ५० लाख लिन थाल्यो रे । जसबाट ५० लाख लिन्थ्यो त्यसबाट दुई करोड लिन थाल्यो रे । अहिले गृमन्त्रीको शैली पनि त्यही हो जस्तो लाग्छ ।

हिजो जंगलमा बस्दा पनि उहाँहरुले यसरी नै धम्काएर पैसा लिनुभएको थियो । अहिले पनि त्यही शैली अपनाउँदै हुनुहुन्छ । अहिले पनि उहाँहरुलाई सरकारमा छु, मुन्त्री हुँ भन्ने लागेको छैन । अहिले पनि उहाँहरु कानुनको नभई बन्दुकको भाषा बोल्दै हुनुहुन्छ । त्यस कारण कम्युनिस्ट सत्तामा पुग्नु भनेको बिडम्बना हो, यो थप पुष्टि भईरहेको छ । सरकारको काम मैले भन्दा पनि जनताले मूल्याङ्कन गरिरहेका छन् । यसको नतिजा छिट्टै आउँछ ।

उसो भए कांग्रेस अब कसरी प्रस्तुत हुँदैछ त ?

सरकारको शैली हामी हेरिरहेका छौँ । किनभने भर्खर त सरकारका सय दिन कटेका छन् । ६ महिनासम्म कस्तो काम गर्छन् त्यो हेर्न बाँकी नै छ । ल्याएको बजेटलाई कसरी कार्यान्वयन गर्छन् भन्ने कुरा हेर्न बाँकी नै छ । त्यसको विस्तारै समीक्षा होला । तर अहिले देशमा मूल्यवृद्धि बढाएर जनताको ढाड सेक्ने काम भएको छ । जनताका पक्षमा हामी आवाज उठाइरहेका छौँ । सीमानामा अतिक्रमण भइरहेको छ । त्यसको लागि सदनमा बोल्छौँ, सडकमा बोल्छौँ र सीमानामा गएर हामी धर्ना दिन्छौँ । जे गर्नु पर्छ कांग्रेस गर्छ । केही समय अझै सरकारलाई पनि काम गर्ने समय दिनै पर्छ । त्यसपछि के गर्नुपर्छ, काँग्रेस परिपक्व ढँगले अगाडी बढ्छ ।

सरकारसंग अहिले दुई तिहाइको बहुमत छ । संविधान फेर्न सक्ने हैसियत यो सरकारसंग छ । फेरि संविधान संशोधनका कुरा पनि आइरहेका छन् । यो देखेर काँग्रेस कतै आत्तिएको त छैन ?

कम्युनिस्टले धम्काउने मात्रै हो । म विद्यार्थी राजनीतिदेखि नै आएकाले कम्युनिस्टहरुको शैली मलाई राम्रोसंग थाहा छ । पहिले तर्साउन खोज्ने र नतर्सेपछि सौदा गर्न आउने उनीहरुको प्रवृत्ति हो । कम्युनिस्टहरुलाई कि त गिरिजा प्रसाद कोइरालाले चिन्नु भएको थियो कि मैँले चिनेको छु । दुई तिहाईको दम्भले केही हुनेवाला छैन । यिनीहरु केही गर्न सक्दैनन् । एउटा नियमावलीमा त कांग्रेसको सर्मथन नहुँदा परिवर्तन गर्न सकेनन् भने संविधान परिवर्तन गर्ने त परको कुरा हो ।

संविधान संशोधन हुँदैन भन्ने कुरा त अकाट्य होइन । तर, संविधान कार्यान्वयन गर्दै जाँदा त्यसमा त्रुटीहरु देखियो भने संशोधन गर्नु स्वभाविक हो । आजसम्म प्रधानन्यायाधीश नियुक्ति गरेको छैन, भर्खर सिफारिस गरेको छ । सरकार संविधान विपरित गएको छ ।

हिजो कांग्रेस सरकारले मनोनित गरेका राष्ट्रिय सभाका तीन सदस्यलाई रोक्न लगाएर नयाँ मनोनित गरियो । अहिले यसको निर्णय भइसकेको छैन । अदालतमा छ त्यो केस । अहिले प्रधानन्यायाधीशलाई कामु बनाएर दबाब दिएर त्यो निर्णय गराउन खोजिएको छ । हिजो मान्छे मार्दै हिनेको र अदालतबाट आजीवन जेल सजाय पाएको बालकृष्ण ढुंगेल छुटाइयो । किनभने अदालतको प्रधानन्यायाधीशलाई कामु बनाएर राखिएको छ । सरकारका यस्ता कामहरुलाई काँग्रेसले आपत्तिजनक रुपले हेरिरहेको छ ।

अब तपाईको पार्टीतिर फर्किऔँ । अहिले काँग्रेसको हालखबर चाहीँ के छ ?

काँग्रेस आत्मसमिक्षा र रणनीति तर्जुमा गरिरहेको छ । कमी कमजोरी हामीमा पनि भएको हो । कमजोर भएर नै सच्चिने बाटो मिल्छ । हाम्रा आफ्नो पार्टी भित्रका गतिविधिका कारण पनि हामी कमजोर भयौँ । जनतालाई बुझाउनु पर्ने कुराहरु बुझाउन नसक्दा पनि हामी निर्वाचनमा पराजित भयौँ । एउटा राजनीतिक पार्टीले निर्वाचनमा पराजित भएपछि त्यसको कारण खोज्ने गरिन्छ । हाम्रो पार्टीमा पनि त्यो हुँदैछ । भदौमा हाम्रो महासमितिको बैठक हुँदैछ । त्यसले पनि धेरै कुराहरु सच्याउँछ । भर्खरै हेटौँडामा पनि जिल्ला सभापतिहरुको भेला सम्पन्न भएको छ । त्यसमा पार्टी सभापतिले पनि केही कुराहरु गल्ती स्वीकार्नु भएको छ । अन्य केही कुराहरुमा पनि कमी कमजोरी भएको छ । जसलाई भोलिका दिनमा सच्याउँदै जाने प्रतिबद्धता पनि छ ।

अन्त्यमा, कांग्रेसलाई अब अगाडि बढाउन तपाईहरुको भूमिका के हुन्छ ?

विकासको मुद्दामा त हामी संगै जाने हो । मुलुकको सकारात्मक परिवर्तनका लागि सत्तापक्षलाई हाम्रो साथ सँधैँ रहने छ । पार्टीलाई सक्रिय बनाउनका लागि जसले जनताको मन जित्न सक्छ त्यसलाई निर्वाचनमा लडाउने काम हुन्छ । जसले सुखदेखि दुखको घडीसम्ममा जनतासंगै हुन्छ । यसलाई टिकट वितरण गर्ने हो । दुई दिन गएर भाषण गरेर आएको भरमा उसलाई टिकट दिनु हुँदैन भन्ने हाम्रो मान्यता छ । यही आधारमा कांग्रेस बलियो हुन्छ । आगामी दिनमा पनि जनताका पक्षमा रहेर नै काम गरिन्छ । प्रजातान्त्रिक र लोकतान्त्रिक व्यवस्थालाई मर्न नदिने काम हामीहरुबाट हुन्छ ।