सुर्खेत– कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले रानीघाट पुलको स्थलगत अनुगमन गरेका छन् ।


ADVERTISEMENT


प्रदेशको राजधानी वीरेन्द्रनगर नगरपालिका र बराहताल गाउँपालिका हुँदै बर्दिया जोड्ने भेरी नदीमाथि निर्माणाधीन उक्त पुलको निर्माण कार्य विगत छ वर्षदेखि अलपत्र रहेको थियो ।


ADVERTISEMENT

# # #


सो अवसरमा मुख्यमन्त्री शाहीले भने, “अब हामी निर्माण व्यवसायी, डिभिजन सडक कार्यालय र पुल महाशाखालाई बोलाएर छलफल गर्छौं र अविलम्ब निर्माण कार्य सम्पन्न गर्न निर्देशनात्मक सुझाव दिन्छौँ ।”

अनुगमनमा सहभागी भौतिक पूर्वाधार विकासमन्त्री खड्ग खत्रीले निर्माण व्यवसायीको लापरबाहीका कारण पुल निर्माण कार्य ढिलाइ भएको बताएका छन् ।

पुल निर्माणको कार्य प्रगति ३५ प्रतिशत
रानीघाट पुल निर्माण कार्यका लागि पप्पु मल्ल जेभीले २०६९ असार २९ गते सम्झौता गरेको थियो । सो कम्पनीले २०७२ असार २९ गते ३ वर्षभित्र रु १४ करोडको लगानीमा निर्माण कार्य सम्पन्न गर्ने गरी कबोल गरेको थियो तर छ वर्षमा पुग्दा पनि हालसम्म ३५ प्रतिशत कार्य प्रगति भएको डिभिजन सडक कार्यालय सुर्खेतका इञ्जिनियर दीपेन्द्रबहादुर विष्टले जानकारी दिएका छन् ।

पुल निर्माणमा हालसम्म रु तीन करोड २६ लाख मात्र खर्च भएको उनले बताए ।

बराहताल गाउँपालिका–२ का स्थानीय कालुसिंह बोहोराले छ वर्षदेखि पुल नबन्दा यहाँका जनतालाई आवातजावत गर्न सास्ती भएको बताए । उनले निर्माण व्यवसायीको चरम लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको आरोप लगाएका छन् ।

पप्पु मल्ल जेभीका आधिकारिक प्रतिनिधि कर्णबहादुर मल्लले काठमाडौँमा बसेर गरिएको डिजाइनका कारण निर्माण कार्यमा समस्या आएको बताएका छन् ।

सडक विभागको कमजोरीका कारण पुल निर्माणमा सकस भएको दुखेसो गर्दै उनले निर्माण व्यवसायीलाई कामको जिम्मा लगाएर राज्य पन्छिन खोजेको आरोप लगाएका छन् । रासस