एजेन्सी– क्यानाडाकी विदेशमन्त्रीले स्टील र एलुमिनियममा अमेरिकाले लगाएको नयाँ करसामु आफ्नो देश ‘नझुक्ने’ बताएकी छन् । देशका स्टील र एलुमिनियम उद्योगलाई सघाउन क्यानाडाले डेढ अर्ब अमेरिकी डलर बराबरको सहायता कार्यक्रम सार्वजनिक गरेपछि विदेशमन्त्री क्रिष्टिया फ्रीलण्डको पछिल्लो भनाइ आएको हो ।


ADVERTISEMENT


१६.६ अर्ब क्यानाडियन डलर मूल्य बराबरको अमेरिकी सामानमा क्यानाडाले लगाएको कर जुलाइ १ तारिखदेखि कार्यान्वयनमा आउनेछ ।


ADVERTISEMENT

# # #


विदेशमन्त्री क्रिष्टिया फ्रीलण्डले अमेरिकाले क्यानाडालाई ‘अरू कुनै विकल्प नदिइ’ जवाफी कदम चाल्ने विकल्प मात्रै दिएको बताइन् ।

क्यानाडाले लगाएको कर अमेरिकी स्टील तथा एलुमिनियम उत्पादनमा लक्षित छ । त्यसबाहेक दही, केट्चप र राजनीतिक अखडा मानिने विस्कन्सिन, पेन्सिल्भानिया र फ्लोरिडामा उत्पादन हुने सुन्तलाको जुस पनि क्यानाडाको करको दायराभित्र पर्नेछन् ।

अमेरिकाले गत जुन १ देखि लागु गरेको करको जवाफमा कर लगाइएको फ्रीलण्डले बताइन् । उनले भनिन्, “हामीले अवलम्बन गर्ने नीति तनाव बढाउने प्रकृतिको हुनेछैन तर त्योसँगै हामी झुक्ने पनि छैनौँ ।”

अमेरिका र क्यानाडा एकअर्काको व्यापार सूचीमा अग्रपंक्तिमा पर्दछन् ।

तनाव
गत वर्ष दुई देशबीच ७०० अर्ब अमेरिकी डलर बराबरको व्यापार भएको थियो । तर काठ, दूधजन्य उत्पादन र रक्सी लगायतका विवादलाई लिएर दुई देशबीचको व्यापार सम्बन्धमा तनाव चुलिएको छ ।

मेक्सिकोसहित यी दुई देशहरू उत्तर अमेरिकी स्वतन्त्र व्यापार सम्झौताबारे वार्तारत छन् । विदेशमन्त्री फ्रीलण्डले आइतवार मेक्सिकोको चुनाव सकिएपछि छलफलले निरन्तरता पाउने र फेरि गति लिने विश्वास व्यक्त गरिन् ।

उनले ‘साझा सुझबुझ’ ले काम गर्नेमा आफू विश्वस्त रहेको उल्लेख गरिन् ।