गोरखा– पूर्वप्रधानमन्त्री एवं गोरखा क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य डा. बाबुराम भट्टराइले उखान टुक्का र मजाकले देश नचल्ने बताएका छन् । शनिबार गोरखा सदरमुकाममा आयोजित पत्रकार सम्मेलनमा उनले वाम गठवन्धनको सरकार नीति तथा कार्यक्रम छनौटमा चुकेको बताए ।


ADVERTISEMENT


‘आकाशतिर हेरेर जमिनमा टेक्नुपर्ने हो तर उहाँले आकाश मात्र हेर्नुभयो, जमिनमा टेक्नुभएन,’ प्रधानमन्त्री केपी शर्मा ओलीप्रति लक्षित गर्दै भट्टराइले भने, ‘पानी जहाज र रेलको ठूला कुरा गरिरहनुभएको छ तर अहिलेको आवश्यकता सडकमा भने कुनै चासो दिनुभएको छैन ।’


ADVERTISEMENT

# # #


सबै स्थानीय तह र वडाको केन्द्रसम्म कम्तिमा बाह्रै महिना सवारी चल्ने सडक हुनुपर्ने उनले बताए । अहिलेको सरकारमा अहं बढेको आरोप लगाउदै उनले विकास र समृद्धिबारे सरकारलाई ज्ञान नभएको बताए ।

कमिसनखोरी र भष्टाचार अन्त्यका लागि पनि सरकारले पहल नगरेको उनको आरोप छ । ठेकेदारी प्रथामा देखिएको विकृति बिसंगतिलाई सरकारले प्रश्रय दिइरहेको भन्दै उनले यसको अन्त्यमा जोड दिए । ‘लागतभन्दा आधा रकम कममा काम गर्ने ठेक्का दिएपछि कहिल्यै काम राम्रो हुँदैन । त्यही प्रवृति अहिलेको सरकारले पनि पछ्याइरहेको छ,’ उनले भने ।

प्रधानमन्त्रीको चीन भ्रमण व्यावहारिक नभएको भट्टराईको टिप्पणी छ । ‘भारतसँग मात्र निर्भर हुनुभन्दा चीनसँग पनि सम्बन्ध सुधार गर्नु आवश्यक छ, प्रधानमन्त्रीको भ्रमण नीतिगत रुपमा राम्रो भएपनि व्यवहारमा ठोस परिवर्तन छैन,’ उनले भने ।

राष्ट्रिय गौरवको बूढीगण्डकी जलबिद्युत आयोजना अहिलेसम्म कुन मोडेलमा बन्ने यकीन नगर्दा समस्या भएको उनले बताए । भट्टराईले बजेटले गोरखालाई उपेक्षा गरेको आरोप लगाए । ‘गोरखा जिल्लामा पाँच वटा राष्ट्रिय योजनाको परिकल्पना गरेर रकम विनियोजन गर्न पेश गरेपनि सरकारले बजेटमा नसमेटेको उनको भनाइ छ ।

आफ्नो चुनावी क्षेत्रवाहेक अरु क्षेत्रलाई सरकारले ध्यान नदिएको उनको आरोप छ । अहिलेको बजेटमा कुनै नयाँपन नभएको भन्दै उनले यसले जनताले अपेक्षा गरेको आर्थिक वृद्धिदर र समृद्धि पूरा नहुने बताए । अज्ञानताका कारण पनि बजेटमा नयाँपन आउन नसकेको उनको भनाइ छ । ‘हामीले ऐना देखाउने हो तर सरकारको आँखा छैन, आँखा नहुनेलाई ऐना देखाएर के गर्नू ?’, बजेटप्रति लक्ष्य गर्दै उनले भने ।