काठमाडौं । सरकारले विराटनगर र विरगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गर्दै तराइ मधेसका १९ वटा जिल्लामा २३ गाउँपालिका थप गर्ने निर्णय गरेको छ।


ADVERTISEMENT


स्थानीय तहको संख्या र सीमा निर्धारण आयोगको प्रतिवेदन अनुसार सोमबार राति बसेको मन्त्रिपरिषदको बैठकले तराई मधेसका जिल्लामा स्थानीय तहको संख्यामा हेरफेर गरेको स्थानीय विकास तथा संघीय मामिला मन्त्री विजयकुमार गच्छदारका स्वकीय सचिव कनैया ठाकुरले हिमालय पोष्टलाई जानकारी दिए।


ADVERTISEMENT

# # #


मन्त्रिपरिषद बैठकले तराई मधेसमा २२ वटा स्थानीय तह थप्ने निर्णयसमेत गरेको छ। सरकारले स्थानीय विकास तथा संघीय मामिला मन्त्री विजयकुमार गच्छदार नेतृत्वमा स्थानीय तहको संख्या थप्न कार्यदल गठन गरेको थियो। त्यही कार्यदलले वीरगन्ज र विराटनगरलाई महानगरपालिका बनाउने निर्णयसँगै स्थानीय तहको संख्या थप्ने सिफारिस गरेको थियो।

प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ बसेको मन्त्रिपरिषदको बैठकले मोरङको विराटनगर उपमहानगरपालिका र पर्साको विरगञ्ज उपमहानगरपालिकालाई महानगरपालिका घोषणा गरेको छ ।

त्यसैगरी झापादेखि कैलालीसम्मका ९ जिल्लाका २४ वटा गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको छ।

कञ्चनपुर र बर्दियामा भने विद्यमान संरचनामा कुनै हेरफेर गरिएको छैन।

सरकारले, झापा, सिराह, धनुषा, बारा र कैलालीका एक एक गाउँपालिकालाई नगरपालिका बनाउने निर्णय गरेको छ। त्यसैगरी रूपन्देहीका २, बाँकेमा २ र महोत्तरीमा ३ गाउँपालिकालाई नगरपालिकामा परिणत गरेको छ भने रौतहटका ११ गाउँपालिकालाई नगरपालिका बनाएको छ।

त्यसैगरी तराई मधेसका १२ जिल्लामा २२ गाउँपालिकाको संख्या थप गरेको छ। पर्साको एक गाउँपालिकालाई वीरगञ्ज महानगरपालिकामा गाभ्दै सो जिल्लामा एक गाँउपालिका थप  गरेको छ। यसरी थपिएका गाउँपालिकाको संख्या २३ भए पनि वास्तविक संख्या २२ हो।

उपप्रधान तथा स्थानीय विकास मन्त्री विजयकुमार गच्छदारको संयोजकत्वमा गठित समितिको सिफारिस अनुसार, सर्लाही, नवलपरासी, रुपन्देही, र कपिलवस्तुमा ३ वटाको दरले गाउँपालिकाको संख्या थपिएको छ भने सुनसरी र रौतहट २ वटाको दरले थपिएको छ।

सप्तरी, पर्सा, धनुषा, बारा, कैलाली र बाँके जिल्लामा भने एक एक गाउँपालिका थप गरिएको छ।

दोस्रो चरणको निर्वाचनमा भाग लिनका लागि असन्तुष्ट मधेसी मोर्चाले राखेको माग अनुसार, सरकारले प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको विरोधका बाबजूद मोर्चालाई सहमतिमा ल्याउन तराई मधेसका जिल्लामा स्थानीय तहको संख्या थप गरेको हो। पहिले काठमाडौं मात्र महानगरपालिका रहेकोमा स्थानीय तह पुनर्संरचनासँगै ललितपुर, पोखरा र भरतपुर पनि महानगर भएका छन्। विराटनगर र वीरगन्ज थपिएपछि महानगरपालिकाको संख्या ६ पुगेको छ।