काठमाडौँ– विश्वकप फूटबल प्रतियोगिताअन्तर्गतको क्वाटरफाइनल खेल भोलि शुक्रबारदेखि शुरु हुने भएको छ ।


ADVERTISEMENT


रसियामा जारी उक्त प्रतियोगिताअन्तर्गत शुक्रबार दुई खेल हुनेछन् जसमा पहिलो खेलमा नेपाली समयअनुसार ७ः४५ बजे उरुग्वेले फ्रान्सको सामना गर्नेछ भने दोस्रो खेल राति ११ः४५ बजे ब्राजिल र बेल्जियम आमनेसामने हुनेछन् । जारी प्रतियोगितामा उरुग्वेले पोर्चुगललाई २–१ ले पराजित गर्दै क्वाटरफाइनलमा आफ्नो स्थान सुरक्षित गर्यो ।


ADVERTISEMENT

# # #


यता फ्रान्सले भने गत संस्करणको उपविजेता अर्जेन्टिनालाई ४–३ ले पाखा लगाउँदै क्वाटरफाइनलमा पुगेको हो । उरुग्वे र फ्रान्स विश्वकपका पूर्वविजेतासमेत हुन् ।

क्वाटरफाइनलको यात्रा तय गर्ने सिलसिलामा पाँच पटकका विश्वकप विजेता ब्राजिलले मेक्सिकोलाई २–० गोलअन्तरले पराजित ग¥यो भने बेल्जियमले जापानलाई ३–२ गोलअन्तरले हराएको थियो ।

यही असार २३ गते शनिबार राति ७ः४५ बजे तेस्रो क्वाटरफाइलन खेलमा स्वीडेन र इङ्ग्यान्ड भिड्नेछन् भने चौथो तथा अन्तिम खेल राति ११ः४५ बजे आयोजक रुस र क्रोसिया आमनेसामने हुनेछ । उक्त खेलका विजेता टोली विश्वकपको सेमिफाइनलमा पुग्नेछन् । सेमिफाइनल खेल असार २६ र २७ गते हुनेछ ।

चर्चा ‘गोल्डेन बुट’को

विश्वकपमा क्वाटरफाइनल प्रवेश गर्ने आठ टोलीको टुंगो लागेसँगै गोल्डेन बुटको चर्चा हुन थालेको छ । विश्वकपको उपाधि कसले जित्ने भन्ने चासो जति छ, गोल्डेन बुटबारे पनि उत्तिकै उत्सुकता देखिन्छ ।

गोल्डेन बुटको दौडमा यसपटक इंग्ल्याण्डका कप्तान ह्यारी केन अगाडि देखिएका छन् । जारी विश्वकपमा उनले ६ गोल गरिसकेका छन् । ६ गोल गरेका केनले ३ गोल भने पेनाल्टीमार्फत गरेका हुन् ।

गोल्डेन बुटको दौडमा उनलाई बेल्जियमका रोमेलु लुकाकुले पच्छ्याइरहेका छन् । उनको गोल संख्या ४ छ । समूह चरणको पहिलो खेलमा स्पनेविरुद्ध ह्याट्रिक गरेका पोर्चुगलका क्रिस्टियानो रोनाल्डोले पनि ४ गोल नै गरेका छन् । पोर्चुगल प्रतियोगिताबाट बाहिरिसकेकाले ‘गोल्डेन बुट’मा उनको कुनै चुनौती छैन ।

त्यस्तै ३ गोल गरेका उरुग्वेका एडिन्सन काभानी, रुसका डेनिस चेरिसेभ र आर्टेम डिजुबा, फ्रान्सका किलियन एमबाप्पेको पनि सम्भावना अझै सकिएको छैन ।