एजेन्सी– स्वास्थ्य अनुसन्धानकर्ताहरूले भनेका छन्, ‘एचआईभी संक्रमणबाट जोगाउने खोपको लामो समययताको पर्खाइलाई एउटा नयाँ परीक्षणले साकार बनाउने बलियो सम्भावना देखिएको छ।’


ADVERTISEMENT


उनीहरूका अनुसार नयाँ खोपले स्वस्थ वयस्कमा प्रतिरोधी क्षमता देखाएको र सुरक्षित परिणाम दिएको छ।


ADVERTISEMENT

# # #


हार्वर्ड मेडिकल स्कूलको टोलीले गरेको उक्त अध्ययनका क्रममा सो खोपको परीक्षण पूर्वी अफ्रिका, दक्षिण अफ्रिका, थाइल्याण्ड र संयुक्त राज्य अमेरिकाका लगभग चार सय स्वंयसेवकमा गरिएको थियो।

वैज्ञानिकहरूले उक्त उपलब्धिलाई महत्त्वपूर्ण कोसेढुङ्गा भन्दै सावधानीका लागि पनि आग्रह गरेका छन् । दुई हजारभन्दा बढी महिलामाथि दक्षिण अफ्रिकामा यो खोपको थप परीक्षण भइरहेको छ ।

विभिन्न प्रकृतिका भाइरससँग जुध्न सक्ने भनिएको खोप ३ सय ९३ जना मानिसमा परीक्षण गरिदाँ त्यो एचआईभी प्रतिरोधी रहेको पाइएको द लान्सेटमा छापिएको एउटा अध्ययनले देखाएको छ । त्यसले एचआईभीसँग मिल्दोजुल्दो देखिने भाइरसको संक्रमणबाट बाँदरहरूलाई पनि जोगाएको थियो ।

विश्वभर लगभग ३ करोड ७० लाख मानिसमा एचआईभी वा एड्स रोगको संक्रमण छ र बर्सेनि लगभग १८ लाख नयाँ संक्रमितहरू थपिने गरेको अध्ययनहरूले देखाएका छन् । एचआईभीको उपचारमा विभिन्न प्रगति भएपनि पूर्ण रुपमा त्यसको निदान गर्ने औषधि र उक्त भाइरस प्रतिरोधी खोपको विकासमा हालसम्म ठोस उपलब्धि हासिल भएको छैन् ।

‘प्रेप’ नाम दिइएको एउटा औषधिले एचआईभीको संक्रमण रोक्न सक्ने ठानिएको छ । तर खोप भन्दा फरक, एचआईभी संक्रमण हुन नदिन त्यसलाई नियमित वा दैनिक सेवन गर्नुपर्नेछ ।

यसअघि विगतमा गरिएका एचआईभीविरुद्धका खोपको विकास गर्ने प्रयास विशेष प्रकृति र स्थानविशेषमा पाइने भाइरससँग जुध्नमै सीमित रहेका थिए । तर अहिले परीक्षण गरिएको खोप विभिन्न खालका एचआईभी भाइरससँग जुध्न सक्ने वैज्ञानिकहरूले बताएका छन् ।

परीक्षणमा सहभागी मानिसहरूलाई ४८ हप्ताको अवधिमा चारवटा खोप दिइएको थियो । त्यसबाट सबै सुरक्षित भएको र उनीहरूमा एचआईभी प्रतिरोधी क्षमताको विकास भएको पाइएको थियो । (बिबिसी)