काठमाडौं–गोरखा फुजेलका कृष्णप्रसाद अधिकारीको हत्याका मुख्य अभियुक्तमध्येका एक छविलाल पौडेलले आइतबार सर्वोच्च अदालतसमक्ष आत्मसमर्पण गरेका छन् । उनलाई आइतबारै प्रहरीले पुर्पक्षका लागि डिल्लीबजार कारागारमा लगेर राखेको छ ।


ADVERTISEMENT


अधिकारीको हत्या अभियोगमा सर्वोच्चले छविलाललाई २०७२ पुस ६ गते पुर्पक्षका लागि थुनामै राखेर मुद्दाको कारबाही अघि बढाउन आदेश गरेको थियो ।


ADVERTISEMENT

# # #


त्यसयता ‘फरार’ रहँदै आएका उनलाई पक्राउ गरी सर्वोच्चको आदेश पालना हुनुपर्ने माग राखी कृष्णप्रसादकी आमा गंगामायाले गत जेठ १५ देखि वीर अस्पतालमा आमरण अनशन सुरु गरेकी थिइन् । पछिल्लो समय उनको स्वास्थ्य अवस्था नाजुक हुँदै गएपछि सरकारलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय रूपमै सर्वोच्चको आदेश पालना गराउन दबाब पर्दै आएको थियो ।

गंगामाया अनशन बसेको एक महिना १० दिनमा पौडेलले सर्वोच्चमा आत्मसमर्पण गरेका हुन् । त्यसलगत्तै गंगामायाका वकिल तथा मानव अधिकारवादीहरू आईसीयूमा रहेकी उनलाई भेट्न वीर अस्पताल पुगेका थिए ।

‘हामीले अब तपाईंको मुख्य माग पूरा भएकाले अनशन तोड्नुस् भन्ने आग्रह गर्‍यौं,’ गंगामायाका वकिल बाबुराम गिरीले भने, ‘तर उहाँले तत्कालका लागि सत्याग्रह जारी राख्ने नै संकेत दिनुभयो ।’