काठमाडौं– सामाजिक सञ्जाल फेसबुकले पाकिस्तानमा हुने आम निर्वाचनलाई लक्षित गरी प्रयोगकर्ताको गोप्य सूचना र सामाग्रीको सुरक्षा बढाउन नयाँ रणनीति अपनाएको छ ।


ADVERTISEMENT


पाकिस्तानमा २५ जुलाईमा हुने आम निर्वाचनलाई लक्षित गर्दै फेक न्युजहरु फैलन नदिन यस्तो कदम चालिएको फेसबुकका पाकिस्तानस्थित प्रवक्ताले जानकारी दिए । फेसबुकले प्रयोगकर्ताको गोप्य सूचना अरुलाई उपलब्ध गराएको भनिएको क्याम्ब्रिज एनालिटिका डाटा लिक काण्डमा विवादित भएपछि फेसबुकले आफ्नो विश्वसनीयता बढाउन नयाँ विशेष सुरक्षा अपनाएको हो ।


ADVERTISEMENT

# # #


फेसबुकले सन् २०१६ को अमेरिकी राष्ट्रपति निर्वाचनका क्रममा निर्वाचनको निष्पक्षतालाई प्रभाव पार्ने गरी प्रयोगकर्ताको व्यक्तिगत सूचना बिक्री गरेको आरोपपछि यसका संस्थापक मार्क जुकरवर्गले अमेरिकी र युरोपियन संसदमा क्याम्ब्रिज एनालाइटिका काण्डबारेमा बयान पनि दिइसकेका छन् ।

पाकिस्तानस्थित फेसबुकका प्रवक्ता सरिम अजिजका अनुसार पाकिस्तानमा कम्पनीले सुरक्षाको लागि कर्मचारीहरुको सङ्ख्या अझै बढाएको छ र थपिएका विशेष कर्मचारीहरुले फेसबुकमा हुने निर्वाचन लक्षित विभिन्न क्रियाकलापको निगरानी गर्ने र निर्वाचनको अखण्डताको रक्षा गर्ने छन् ।

‘हामीले हाम्रो टिममा सुरक्षा र नियन्त्रणको लागि कर्मचारीहरु थपेका छौं र निर्वाचनको समयमा हुनसक्ने फेसबुकको दुरुपयोग रोक्न छुट्टै टिम बनाएका छौं’ अजिजले भने, ‘उनीहरुले पारदर्शिताको लागि पाकिस्तान निर्वाचन आयोगबाट तालिम लिन सुरु गरेका छन् र निर्वाचनमा धेरै जनताले भाग लिउन् भनेर प्रर्वद्धनमा पनि लागेका छन् ।’

बढाइएको सुरक्षा सतर्कताले राजनीतिक दल र उम्मेदवारका पेजहरुको सुरक्षा गर्ने छ । फेसबुकको टिम आफ्नो विज्ञापन नीतिलाई अझै सुधार गरेर प्रभावकारी बनाउन, पेजको पारदर्शिता बढाउन, फेक एकाउन्टहरु पत्ता लगाउने संयन्त्र बनाउन र फेक न्युज फैलन नदिन समेत लागिपरेको उनले बताए ।

पाकिस्तानमा फेसबुकको अत्यधिक प्रयोग हुन्छ । राजनीतिक दल, नेताहरु र उनीहरुको समर्थकहरुले सामाजिक सञ्जाललाई आफ्नो विचार व्यक्त गर्ने थलोको रुपमा प्रयोग गर्छन् ।

गत अप्रिलमा फेसबुकका संस्थापक जुकरबर्गले पाकिस्तान लगायत विभिन्न देशमा निर्वाचन अगाडि सुरक्षा र पारदर्शिताको लागि फेसबुक प्रतिबद्ध रहेको बताएका थिए ।