काठमाडौं– त्रिशूली नदीबाट अवैध रुपमा बालुवा दोहन गर्न रोक लगाएको भन्दै धादिङको गल्छी गाउँपालिकाका जनप्रतिनिधि माथि सामूहिक आक्रमणको प्रयास भएको छ । गल्छी गाउँपालिकाभित्र पर्ने त्रिशूली नदीबाट अवैध रुपमा बालुवा निकालेर महंगो मूल्यमा बिक्री गर्दै आइरहेको समूहले शनिबार गल्छी गाउँपालिकाको कार्यालय बैरेनी बजारमा कार्यपालिकाको बैठक बसिरहेको बेला आक्रमण प्रयास गरेको हो ।


ADVERTISEMENT


गाउँपालिका कार्यालयले जिल्ला प्रशासन कार्यालयलाई पत्र लेखेर गल्छी–४ का केशव अधिकारी, दीपक अधिकारी, प्रदीप अधिकारी र गल्छी ६ का अर्जुनलाल श्रेष्ठको समूहबाट गम्भीर खतरा रहेको भन्दै सुरक्षा प्रवन्ध गरिदिन अनुरोध गरेको छ ।


ADVERTISEMENT

# # #


गल्छी गाउँपालिकाका जनप्रतिनिधिहरु आफैं उपस्थित भई कार्यालयमा दिएको उजुरीका विषयमा जिल्ला प्रहरी कार्यालयलाई तत्काल आवश्यक छानविन गरी दोषिमाथि कारवाही गर्न निर्देशन दिइसकेको धादिङका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेले बताए ।

गाउँपालिकाका अध्यक्ष कृष्णहरि श्रेष्ठ, उपाध्यक्ष राधा तिमिल्सिनाका साथै ८ वटै वडाका वडाध्यक्षहरु र कार्यपालिकाका सदस्यहरु बैठक बसिरहेको बेला बालुवाको बिषयमा छलफल गर्न कार्यालयमा पुगेका गल्छी–४ का केशव अधिकारीको नेतृत्वमा आक्रमण प्रयास भएको गाउँपालिकाका पदाधिकारीहरु बताउँछन् ।

गल्छी गाउँपालिकामा लामो समयदेखि नदीलाई कब्जा गरी बालुवा झिकेर बिक्री गर्ने गिरोह सक्रिय रहँदै आएको छ । गाउँपालिका अध्यक्ष लगायतको टोलीलाई हातपात गर्न जाने नेतृत्व गरेका केशव अधिकारी तत्कालीन नेकपा एमालेबाट गल्छी ४ नम्बर वडाको अध्यक्ष पदमा झिनो मतले पराजित व्यक्ति हुन् । गाउँपालिकाको सबै तहमा एमालेका उम्मेदवार विजयी भएकोमा अधिकारी मात्रै पराजित हुन पुगेका थिए । अधिकारी नेकपाका नेता राजेन्द्र पाण्डे निकटका भनेर चिनिन्छन् ।

धादिङको गल्छीमा मात्रै होइन, गजुरी, बेनीघाटरोराङ गाउँपालिकामा समेत सार्वजनिक स्थल, नदी खोला बगर कब्जा गरी अवैध ढंगबाट बालु्वा उत्खनन गर्ने गिरोह सक्रिय छ । बिचौलिया समूहले नदीबाट बालुवा निकाल्ने मजदुरलाई डर त्रास देखाई एक टिपर बालुवाको ७ हजार दिएर १२ हजार रुपैयाँ भ्याट बिल काटेर ५ हजार रुपैयाँ छुट्टै लिएर प्रतिटिप १७ हजारमा बालुवा बिक्री गर्दै आइरहेको स्थानीय बताउँछन् । गल्छीमा १७ हजार पर्ने बालुवा काठमाण्डौं पुग्दा ३५ हजारसम्म पर्ने गर्दछ ।

गल्छी गाउँपालिकाको छोटेबगरमा अवैध ढंगबाट बालुवा निकालेर बिक्री गर्ने कार्यमा संलग्न रहेको समूहले एक साताअघि स्थानीय सिर्जना घलेलाई हातपात गरेको थियो । घलेले नदीबाट निकाल्ने बालुवाको आम्दानी गाउँपालिकाको हुनुपर्ने भनेर आवाज उठाउँदा बिचौलिया समूहले घलेलाई हातपात गरेको हो ।

घलेले आफूलाई अन्याय भएको भन्दै प्राकृतिक श्रोत दोहन गर्ने माथि कारवाहीको माग राखी जिल्ला प्रशासन कार्यालयमा उजुरी पनि दिइएकी थिइन् । तर प्रमुख जिल्ला अधिकारी पाण्डेले दुई पक्षबीच मिलापत्र गराइदिएका थिए । त्यसलगत्तै प्रमुख जिल्ला अधिकारीले नै बिचौलिया समूहको संरक्षण गरेको भन्दै पाण्डेको आलोचना समेत भएको थियो ।