माइ साइ, थाइल्याण्ड– थाइल्याण्डको एक गुफामा थुनिएर रहेका बाँकी आठजना बालक र उनीहरुका एक प्रशिक्षकसहित नौ जनाको उद्धार कार्य सोमबार पनि विहानैबाट सुरु भएको खबर छ ।


ADVERTISEMENT


दक्षिणी थाइल्याण्डमा रहेको एउटा गुफामा करिब दुई हप्तादेखि फसेका १३ जनामध्ये आइतबार चार जनालाई सकुशल उद्धार गरिएको थियो । उद्धाको कार्य अति कठिन भएकोले हिजो चारजनालाई मात्र बाहिर निकाल्न सकिएको थियो ।


ADVERTISEMENT

# # #


सोमबार पनि उद्धार कार्य स्थानीय समय अनुसार बिहान १० बजे शुरु भएको सरकारी अधिकारीहरुले बताएका छन् । उनीहरुले पानीका कारण यो कार्य हिजोजस्तो सहज नहुने देखिएको पनि बताएका छन् ।

उद्धारका लागि अन्तर्राष्ट्रिय गोताखोर, उद्धारको क्षेत्रमा कार्यरत विज्ञहरुलाई परिचालन गरिएको छ । साथै उक्त गुफाको उत्तरतर्फ निर्माण गरिएको ढोकामा दुई वटा एम्बुलेन्स राखिएको छ ।

उद्धार गरी निकालिने बालकलाई एम्बुलेन्समा राखेर तुरुन्तै अस्पताल पुर्याउने जनाइएको छ । आइतबार उद्धार गरी निकालिएका चार जनालाई पनि अस्पतालमा राखिएको जानकारी दिइएको छ ।

उद्धार टोलीमा थाई सेनाको विशेष टोली पनि सहभागी गराइएको छ । उनीहरुलाई बाहिर निकाल्न गुफाको वरिपरिको विभिन्न स्थानमा प्वाल पारेर गुफा भित्रको ग्याँस बाहिर फाल्ने र बाहिरबाट अक्सिजन भित्र पठाउने ‘चिम्नी’ बनाइएको छ ।

गुफा बाहिरबाट करिब ३०० मीटर गहिरो प्वाल पारिएको छ । आइतबार यिनै चिम्नीबाट चार जनालाई निकालिएको हो । उद्धार कार्यमा खटिएकाहरुले आज केही र बाँकी भोलिसम्ममा सबैजना निकालिने जानकारी दिएका छन् ।

केही दिन लगाएर अक्सिजन भित्र पठाउन सकिनेगरी चिम्नी बनाइएको छ । त्यसैबाट गुफाभित्रको ग्याँस पनि बाहिर आउने भएकोले उद्धारकर्ता सजिलै गुफाभित्र जान र बाहिर आउनसक्ने भएको बताएका छन् ।

उनीहरु गएको जुन २३ देखि गुफामा फसेका हुन् । हराएको दिनदेखि खोजी शुरु भए पनि नवौँ दिनमा उनीहरुको अवस्था पत्ता लागेको थियो ।

थाइ उद्धार अधिकारीहरुले दिएको जानकारीअनुसार उद्धार कार्यमा करिब एक हजार जना व्यक्ति परिचालन गरिएको छ । यसमा प्राकृतिक प्रकोपका समयमा मानिसलाई उद्धार गर्न सक्ने विशेष क्षमता भएका विशेषज्ञ टोली र चिकित्सकहरु पनि छन् । रासस/एएफपी