काठमाडौं– नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पूर्वराजा ज्ञानेन्द्र शाहसँग तुलना गर्दै डा. गोविन्द केसीको पक्षमा रहेकाहरुको टाउका नगन्न चेतावनी दिएका छन् ।


ADVERTISEMENT


गोविन्द केसी सत्यको पक्षमा रहेको बताउँदै थापाले भने, “सत्यको पक्षमा एकजना भए पनि हुन्छ ।” सांसद थापाले प्रधानमन्त्री ओलीमा पनि ज्ञानेन्द्र शाहले शासन सत्ता हातमा लिँदाजस्तै दम्भ देखिएको टिप्पणी गरे ।


ADVERTISEMENT

# # #


“चिकित्सक संघका साथीहरु प्रधानमन्त्रीलाई भेट्न गएका रहेछन् । एकजनासँग व्यक्तिसँग डराउने मान्छे म होइन भनेर प्रधानमन्त्रीले भन्नुभएछ,” थापाले संसदमा भने, “२०५९ सालमा राजा ज्ञानेन्द्रले शासन लिइबक्स्यो । रत्नपार्कमा केही मानिसहरु संसद पुनस्र्थापनाको माग राखेर आन्दोलनमा रहेछन् । महाराजका शुभचिन्तक गएर महाराजलाई भनेछन् । महाराज रत्नपार्कमा केही मान्छेहरु चिच्याइरहेका छन् । के भनेका छन् ? महाराजले सोधिबक्सेछ । अनि उनीहरुले भनेछन्– महाराजले गरेको कामले यो देशको भलो हुँदैन । अनि महाराजले भनेछन्– पृथ्वी नारायण शाहको वंशज म ज्ञानेन्द्र शाहलाई सिकाउने ? को– को छन् ? उनीहरुले भनेछन्–गिरिजा प्रसाद कोइराला, माधव कुमार नेपाल, भरतविमल यादव लगायत ४, ५ सय छन् । महाराजले भनेछन्– ४–५ सयको झुण्डले महाराजलाई सिकाउने ? आज समय बदलिएको छ । पात्र फेरिएका छन् । कर्णालीमा चिकित्सक अनशन बसेका छन् । चिकित्सक प्रधानमन्त्रीलाई भन्न गएछन् र भनेछन् यसो गर्यो भने भलो हुँदैन । प्रधानमन्त्रीले भन्नुभएछ– दुई तिहाई समर्थन भएको प्रधानमन्त्रीलाई देशको भलो के गर्दा हुन्छ भनेर चिकित्सकले सिकाउने ? उनको समर्थनमा को छ ? केही थान कांग्रेसले संसदमा हल्ला गर्दैछन् । केही थान मानिस मण्डलामा हल्ला गर्दैछन् । अनि प्रधानमन्त्रीले भन्नुभएछ– दुईतिहाई भएको प्रधानमन्त्रीलाई केही मानिसले सिकाउने ? मलाई बडो दुःख लागेको छ सभामुखज्यु, मलाई चिन्ता पनि लागेको छ । महाराज झुकिबक्स्यो संख्या हेरेर टाउको गनेर ।”

थापाले सत्यको पक्षमा एकजना भए पनि हुने बताए ।

“सत्यको पक्षमा एकजना भएपनि हुन्छ । गोविन्द केसीका पक्षमा टाउको कति छन् नहेर्नुस्,” थापाले प्रधानमन्त्रीलाई भने, “चिकित्सा शिक्षा विधेयकमा सहयोग गर्न हामी प्रतिपक्ष पनि तयार छौं ।”

उनले गोविन्द केसीमा कुनै पनि किसिमको लोभ नभएको बताउँदै केबल नशा मात्रै भएको टिप्पणी गरे ।