”देश जोड्ने काम गरेको हो । देश बेच्ने काम गरेको होइन ।”

”मैँले ८ सय जनालाई रोजगारी दिएको छु । रोजगार सिर्जना गर्नेलाई माफिया भनिन्छ यहाँ  । कागजको टोपी लगाएर माइतीघर मण्डलामा ठूला स्वरमा कराउने चाहीँ महान ?”

”कांग्रेसले आफूलाई भिजन नभएको पार्टीमा प्रमाणित गरेको छ ।  गोविन्द केसीका चारवटा मागको पछि
लागेपछि कांग्रेसले उनैलाई अध्यक्ष बनाए भयो नि !”

”हिजो राजतन्त्र फाल्न, गणतन्त्र ल्याउन कम्युनिस्ट पार्टी लड्यो । अहिले  रवीन्द्र मिश्र सात लाखको जागिर छाडेर आउनु भएको छ रे ! एउटै टेबलमा बसेर उहाँसंग बहस गर्न मन छ ।”

”कम्युनिस्टले अब दशकौँ शासन गर्ने भए भन्ने लागेर विदेशी तत्वको सहयोगमा गोविन्द केसीलाई सडकमा सुताइएको हो ।”

झापास्थित बी एण्ड सी शिक्षण अस्पतालका सञ्चालक दुर्गा प्रसाईले एमाले र माओवादी केन्द्रबीच पार्टी एकता वार्ताको क्रममा पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओलीलाई आफ्नै घरमा बोलाएर मार्सी चामलको भात खुवाएका थिए । अहिले त्यही मार्सी चामलको भातको ऋण चुक्ता गर्न सरकारले मापदण्ड पूरा नगरी मेडिकल कलेज खोल्ने अनुमति दिने किसिमले राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश ल्याउन लागेको भन्ने आरोप लागिरहेको छ । यस विषयमा के भन्छन् त दुर्गा प्रसाई ? चिकित्सा क्षेत्रको सुधारका लागि भन्दै जुम्लामा अनसनरत डा. गोविन्द केसी प्रति मेडिकल व्यावसायीको दृष्टिकोण के हो ? लगायतका विषयमा उनै दुर्गा प्रसाईसंग हिमालय पोष्टसंग बिशेष खुलासाहरु गरेका छन् ।


ADVERTISEMENT


तपाई लामो समयदेखि मेडिकल कलेज सञ्चालनको लागि दौडधूप गरिरहनु भएको छ । तर पनि यो हुन सकिरहेको छैन । फेरि अहिले यो विषय चर्को रुपमा उठेको छ । यसको बारेमा बताइदिनुस् न ।


ADVERTISEMENT

# # #


एउटा महिलालाई कि त विवाह नै गर्न दिन हुँदैनथ्यो । विवाह गर्न दिइसकेपछि र गर्भ बसिसकेपछि अब तैँले बच्चा जन्माउन पाउँदैनस्, फलानो अनशन बसेको छ भनियो भने त्यो महिलालाई कस्तो सकस हुन्छ ? हामीलाई त्यही किसिमको सकस भएको छ । बुझ्ने भाषामा भन्ने हो भने हामी त्यही परिस्थितिमा गुज्रिरहेका छौँ ।

मेची अञ्चल २९ लाख जनसंख्या भएको ठाउँ हो । एउटा पनि अस्पताल थिएन । एउटा पनि मेडिकल कलेज थिएन । सरकारले मलाई बोलाएर यो ठाउँमा मेडिकल कलेज छैन तँ खोल भनेर स्वीकृति दिएको हो । २०६८ पुस १४ मा एउटा निर्णय गरेको छ । काठमाडौँ विश्वविद्यालयका तत्कालीन डीन, त्रिभुवन विश्वविद्यालयका तत्कालीन डीनहरु, भीसीहरु र तत्कालीन शिक्षामन्त्रीको अध्यक्षतामा बसेर हालसम्म काठमाडौँ उपत्यकाभित्र नदिने र काठमाडौँ बाहिर सुदूर पूर्वको मेची अञ्चल र सुदूर पश्चिमको धनगढीलाई दिने भनेर नीतिगत निर्णय गरेर मलाई एलओआई दिइएको हो । त्यही अनुसार मैँले गरेको हो । खल्तीबाट लाइसेन्स निकालेको पनि होइन, इन्डियाबाट लाइसेन्स ल्याएर बनाएको पनि होइन । र म आयातित मानिस पनि होइन । यो कुरा पनि बुझ्न जरुरी छ ।

आज मैँले मेची अञ्चलका २९ लाख जनतालाई स्वास्थ्य सेवा दिन्छु, म १ रुपैयाँ कमाएमा ५० पैसा राज्यलाई कर बुझाउँछु र त्यहाँका मानिसलाई रोजगार दिन्छु भन्दा हामीलाई माफिया भनिन्छ । मैँले आज ८ सय जनालाई रोजगारी दिएको छु । रोजगार सिर्जना गर्नेलाई माफिया भनिन्छ यहाँ  । अनि कागजको टोपी लगाएर माइतीघर मण्डलामा बसेर ठूला स्वरमा आवाज उठाउनेलाई महान व्यक्तिमा गनिन्छ !

मापदण्ड पूरा नगरी मेडिकल कलेज खोल्न दिइनुहुँदैन भन्ने कुरा आइरहेको छ । फेरि मिडियामा पनि तपाईको विरुद्धमा नै समाचार आइरहेका छन् नि ?

स्वाथ्य, शिक्षा, रोजगार तीनवटै चीज संगै प्रदान गरिने काम गरेका हौँ हामीले । कुनै आतंककारी काम गरेका छैनौँ । तर आज मिडियाले हामीलाई आतंककारी जस्तो, माफिया जस्तो व्यवहार गरिरहेका छन् । हामीले बमबारी नै गर्न लागेजस्तो, हाम्रा डाक्टरहरुले हातमा ए के ४७ नै बोकेजस्तो खालको वातावरण मिडियाले बनाएको छ । कहिलेसम्म बनाइराख्ने हो त्यो पनि थाहा छैन । यसमा मिडियाले सामाजिक उत्तरदायित्व बुझ्न जरुरी छ । हामीलाई मापदण्डको कुरा गरिराख्दा उहाँहरु आफै पहिले मापदण्डमा आउनुपर्यो ।

 चिकित्सा क्षेत्रको सुधारका लागि भन्दै जुम्लामा अनसनरत डा. गोविन्द केसी जुम्लामा आफ्नो १५ औँ अनसनमा छन् । तपाईँलाई के लाग्छ गोविन्द केसी शतप्रतिशत नै गलत हुन् ?

गोविन्द केसी आफै अनशन बसेका होइनन् । देशमा उद्योगधन्दा सुरु गरौँ, रेल कुदाऔँ भन्दा यहाँ पत्रिकाहरुले हास्यास्पद तरिकाले लेख्छन् । मैँले भन्न खोजेको के हो भने गोविन्द केसीलाई अनशन बसाइएको हो । हिजो राजतन्त्र फाल्न, गणतन्त्र ल्याउन कम्युनिस्ट पार्टी लड्यो । अहिले सबैथोक गरिदिइसकेपछि विवेशील साझाका रवीन्द्र मिश्र सात लाखको जागिर छाडेर आउनु भएको छ रे ! उहाँसंग एउटै टेबलमा बसेर मलाई यसको बारेमा बहस गर्न मन छ । माइतीघर मण्डलामा कागजको टोपी लगाएर संसारलाई बेवकुफ बनाउँदै हिंड्नु भएको छ । पत्रिकामा विकास गरेर धान फल्दैन । हामी भुईँमा विकास गर्ने मान्छे हौँ ।

गोविन्द केसीप्रति तपाईको धारणा के हो ?

गोविन्द केसी एउटा शालीन मानिस होलान्, सादगी मानिस होलान् । विवाह गर्नु भएको छैन होला, जाँड रक्सी खानुहुन्न होला । तर सादगी भन्दैमा जहाँसुकै जतिखेरै सुत्न त मिलेन नि ? उहाँलाई सुताएर कसैलाई सेलिब्रटी हुनुपर्यो । यस्तै आज कांग्रेसले आफूलाई भिजन नभएको पार्टीमा प्रमाणित गरेको छ ।  गोविन्द केसीका चारवटा मागको पछि लागेपनि कांग्रेसले उनैलाई अध्यक्ष बनाए भयो नि !

कम्युनिस्टले अब दशकौँ शासन गर्ने भए, हामीले आफ्ना स्वार्थ पूरा गर्न नसक्ने भयौँ भन्ने लागेर विदेशी तत्वको सहयोगमा गोविन्द केसीलाई सडकमा सुताइएको हो । यो बाहेक अन्य केही होइन ।

त्यो जमघट र मार्सी चामलको भात भन्ने कुरा अहिले एकदमै भाइरल भएको छ । जसरी यसको चर्चा वा आलोचना भइरहेको छ, त्यसलाई कसरी हेर्नुहुन्छ ?

प्रधानमन्त्रीले अस्ति नै मैँले मेरो नातिकोमा गएर मार्सी चामलको भात खाएको हुँ, कुनै भारतीय चामल खाएको होइन भनिसक्नु भएको छ । म पनि पार्टीको एक कार्यकर्ता हुँ । पार्टी एकता होस्, मिलेर गयो भने देशको भलो हुन्छ भनेर मैँले सहज वातावरण मिलाई दिएको हो । मेरो पनि केही भूमिका थियो । ५-६ घण्टा छलफल गर्दा पक्कै भोक लाग्छ होला । मैँले आफ्नो घरमा आएका पाहुनालाई नेपाली खाना खुवाएको हुँ । मार्सी चामल त्यहीँ जुम्लामा फलेको त हो नि । गोविन्द केसी त्यहीँ जुम्लामा हुनुहुन्छ नि । त्यहीँ खाँदा भइहाल्यो नि मार्सी चामलको भात । त्यही ठिमीको घरमा भएको छलफलले नै आज पार्टी एकतालाई सहयोग पनि पुगेकै हो । । त्यस कारण मार्सी चामलको भातलाई कुनै स्वार्थसंग दाँज्न मिल्दैन ।

तर, आशंका त हुन्छ होला नि ?

आशंका मेडिकल कलेज लिने होइन । प्रचण्ड प्रधानमन्त्री होलान र  मेडिकल कलेज खोलौँला भनेर जनयुद्धमा गएको थिइँन म । भोलि केपी ओली प्रधानमन्त्री होलान् र कलेजको सम्बन्धन ल्याउँला भनेर हिजो केपी ओलीलाई सघाएको थिइन । त्यस कारण म के भन्छु भने त्यो संयोग हो । तर देश जोड्ने काम गरेको हो । देश बेच्ने काम गरेको होइन ।

हेर्नुस् सनसनीपूर्ण अन्तर्वार्ताको पूर्ण अंश :