मनाङ– सम्झौताको अबधि सकिँदा पनि बेँसीशहर–चामे सडकमा पुल निर्माण भएको छैन । खोलामा पुल बनाउने जिम्मा लिएको क्यारवाहन कन्सल्टेन्सीले समयमा काम नगर्दा स्थानीयवासी, पर्यटक र सञ्चालित सवारी साधन खोलामा अलपत्र पर्दै आएका छन् ।


ADVERTISEMENT


यस सडक खण्डामा पर्ने म्यार्दी खोला, तिमाङ खोला, पिसाङ खोला र तिल्चेगाउँ जाने दूधखोलामा मोटरेबल पुल निर्माण गर्ने जिम्मा लिएको उक्त कन्सल्टेन्सीले २०७५ असार मसान्तसम्ममा लमजुङ र मनाङ जोड्ने म्यार्दी खोलामा बेलिब्रिज निर्माणका लागि दमौली सडक डिभिजन कार्यालयसँग रू दुई करोड २१ लाखमा सम्झौता गरेको थियो ।


ADVERTISEMENT

# # #


एउटामात्र मोटरबाटो त्यसमा पनि खोलाले छेक्ने भएपछि मनाङ आवतजावतमा कठिन भएको स्थनीयवासी शेरबहादुर विश्वकर्माले बताए ।

उता मनाङ रोडमा वर्षैपिच्छे यस्तो समस्या आइरहने भएकाले सवारी चालक जोखिम मोल्न बाध्य भएको जानकारी दिँदै सवारी चालक सन्तबहादुर गुरुङले बर्खाको समयमा यहाँको व्यापार व्यवसाय ठप्प हुने अवस्थामा पुगेको र बिरामीका लागि झन समस्या भएको बताए ।

उक्त कन्सल्टेन्सीले भने भौगोलिक विकटताका कारण समयमा काम गर्न नसकेको जनाएको छ । सो कम्पनीका इन्जिनियर सुशील नकर्मीका अनुसार हिउँदमा बढी चिसो हुने र बर्खामा झरी, बाढी पहिरोका कारण काम समयमा सम्पन्न नभएको वताए ।