म्याग्दी– २०६५ सालयता म्याग्दीका ग्रामीण क्षेत्रमा सडक विस्तारले व्यापकता पाएसँगै जिल्लाका मौलिक सम्पदा नास भएर गएका छन् । मौलाउँदो डोजर संस्कृति र डोजर चालक नै इञ्जिनियर बनेर बिना सर्भे र योजना सडक खनिदा ग्रामीण क्षेत्रमा इतिहासको साक्षी बनेर रहेका ऐतिहासिक पाटी–पौवा भत्काइएको छ भने चौतारी र पोखरी पुरिएपछि ग्रामीण सौन्दर्य नै हराएको छ ।


ADVERTISEMENT


सडक सुविधाको पहुँच विस्तारसँगै ऐतिहासिक महत्वका पाटी,पौवाको अस्तित्व संकटमा परेको छ । सडक र होटल सुविधा नभएको समयमा बटुवा र तीर्थयात्रीका लागि म्याग्दीका विभिन्न ठाउँमा निर्माण गरिएका पाटीपौवा संरक्षणको अभावमा संकटमा परेका हुन् ।


ADVERTISEMENT

# # #


जिल्लाको विभिन्न ठाउँमा रहेका १०० वटा भन्दा बढी यस्ता पाटीपौवाको अस्तित्व संरक्षण र उपभोगको अभावमा संकटमा परेका मालिका गाउँपालिका–२ रुमका बिलबहादुर विश्वकर्माले बताएका छन् । त्यसैगरी बेनपा–९ गलेश्वरका पं भीमनाथ पराजुलीले यात्रुको सुविधाका लागि बनाइएका पाटीपैवा र चौतारी पछिल्लो समय सडक विस्तारका नाउँमा भत्काइनु आफ्नो मौलिकतामाथि प्रहार गर्नु भएको बताए ।

उनका अनुसार विश्वप्रसिद्ध मुक्तिनाथ मन्दिर प्रवेशद्वारको रूपमा चिनिने म्याग्दीको सदरमुकाम बेनीदेखि मुस्ताङको सिमानासम्मको पुरानो बाटोमा रहेका दर्जनौँ पाटीपौवा लोप भइसकेका छन् ।

मोटरबाटो र होटलको विकास हुने क्रमसँगै पाटीपौवा भत्काइने क्रम बढेको ताकमका बयोवृद्ध बृद्धीप्रसाद सुवेदीले बताएका छन् । परिवर्तित समयअनुसार ग्रामीण पहिचान झल्काउने यस्ता सम्पदाको संरक्षण गर्न सरोकारवालाले चासो नदिएको उनको गुनासो छ ।

पुण्य कमाउनका लागि सामाजिक काम गर्न पाटीपौवा र चौतारी निर्माण गर्ने चलन छ । पहिले बाटोमा होटल थिएनन् । पाटीपौवामा बास बस्ने चलन थियो । सुवेदीले भने, “ठाँटीमा बास बस्ने चलन हराए पनि यस्ता सम्पदाको संरक्षण हुन जरुरी छ ।” रासस