काठमाडौं–इटालीयन क्लब युभेन्टसमा आवद्ध क्रिस्टियानो रोनाल्डो विश्वको चौथो महङ्गो खेलाडी भएका छन् ।


ADVERTISEMENT


रियल मड्रिडका स्टार रोनाल्डोलाई युभेन्टसले ९९.२ मिलियन पाउण्डमा क्लबमा भित्र्याएको हो । यो सम्झौतासँगै पोर्चुगिज स्टार रोनाल्डो इतिहासकै चौथो महंगा फुटबल खेलाडी बनेका हुन् ।


ADVERTISEMENT

# # #


बार्सिलोनाबाट नेइमारलाई तथा मोनाकोबाट किलियन एम्बाप्पेलाई भित्र्याउँदा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेइनले कीर्तिमानी रकम तिरेको थियो । नेइमारका लागि २०० मिलियन पाउण्ड तथा एम्बाप्पेका लागि १६६ मिलियन पाउण्ड तिरेरे प्रान्सेली क्लब पीएसजीले क्लबमा भित्र्याएको थियो ।

त्यस्तै लिभरपुलबाट ब्राजिलियन मिडफिल्डर फिलिप कोटिन्होलाई बार्सिलोनाले भित्र्याउँदा १४२ मिलियन पाउण्ड तिरेको थियो ।

रोनाल्डोले साताको पाँच लाख पाउण्ड पारिश्रमिक पाउने गरी युभेन्टससँग सम्झौता गरेका हुन् ।

३३ वर्षीय पोर्चुगिज स्टार रोनाल्डोले सन् २००८, २०१३, २०१४, २०१६ तथा २०१७ मा गरी पाँच पल्ट बलोन डी ओर अवार्ड जितेका छन् ।

रियल मड्रिडका लागि सबैभन्दा बढी गोल गर्ने खेलाडीसमेत रहेका उनले चार सय ५१ गोल गरेका छन् । यस्तै चार पटक च्याम्पियन्स लिगको उपाधि जिताएका रोनाल्डोले गएको मे महिनामा पछिल्लो संस्करणको उपाधि जिताए ।

अब अगष्ट ४ मा रोनाल्डोको नयाँ टिम युभेन्टसले उनको पुरानो क्लब रियलसँग अमेरिकामा इन्टरनेसनल च्याम्पियन्स कपमा प्रतिस्पर्धा गर्नेछ ।