हेटौंडा– गएरातिदेखि परेको पानीका कारण पहिरो झरेपछि हेटौंडा-काठमाडौं जोड्ने छोटो दुरीको मार्ग अवरूद्ध भएको छ । सडकमा पहिरो खसेर हेटौंडा–फाखेल खण्ड अवरुद्ध भएको हो ।


ADVERTISEMENT


सडक अवरुद्ध हुँदा पूर्वी तराईको सर्लाहीदेखि चल्ने सवारी र यात्रु अलपत्र परेका छन् । हेटौंडा–फाखेल खण्डको महालक्ष्मी खोला र सुकौरा ड्याममा आएको पहिरोले सडक अवरुद्ध भएको प्रहरी चौकी फाखेलले जनाएको छ ।


ADVERTISEMENT

# # #


ठूलो पहिरो झरेका कारण सडक चाँडै खुल्ने अवस्था नरहेको बताइएको छ । पहिरो पन्छाउनका लागि उपकरण पनि नभएका कारण समस्या भएको प्रहरीले जनाएको छ ।

सडक डिभिजन कार्यालय काठमाडौंले ठेक्का लगाएर काम गरी रहेको हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड पनि सञ्चालनको अवस्थामा नरहँदा थप समस्या भएको बताइएको छ ।

सडक अवरुद्ध हुँदा पूर्वी नेपालको सर्लाही, रौतहट, निजगढ, बारा, पर्सादेखि आउने र काठमाडौंबाट फर्कने साना सवारी रोकिएका छन् । यो दुई छोटो मार्ग हुँदै दैनिक एक हजारभन्दा बढी सवारी सञ्चालन हुने गर्दछन् ।

यो मार्गमा दुई दर्जन कम्पनीको भाडाका पाँच सयभन्दा बढी सुमो सञ्चालन हुने गर्दछन् ।

दीर्घकालीन ढंगबाट काम गर्न नसकिए प्रत्येक दिन पहिरोको जोखिम रहेको ईन्द्रसरोवर गाउँपालिका वडा नम्वर ८ का अध्यक्ष धनबिर स्याङतानले बताए ।