काठमाडौं– छोरा कृष्णप्रसाद अधिकारीको हत्यारालाई कारबाहीको माग गर्दै अनशन बस्दै आएकी गोरखा फुजेलकी ६२ वर्षीया गंगामाया अधिकारीले शुक्रबार ४६औं दिनमा अनशन तोडेकी छन् । सरकारले पाँचबुँदे सहमति कार्यान्वयन गर्ने सहमति पछि उनले अनशन तोडेकी हुन् ।


ADVERTISEMENT


पटकपटक अनशन बस्दै आएकी अधिकारी पछिल्लोपटक वीर अस्पतालमा १५ जेठदेखि अनशनमा थिइन् । अनशनकै क्रममा गंगामायाका श्रीमान् नन्दप्रसाद अधिकारीको ६ असोज २०७१ मा निधन भएको थियो भने छोरा नुरप्रसाद बेपत्ता छन् ।


ADVERTISEMENT

# # #


गंगामायाले माग १० दिनभित्रमा पूरा नभए पुनः अनशन बस्ने चेतावनी दिएकी छन् ।

‘सरकारले माग पूरा गर्ने प्रतिबद्धता तथा सहमति गरेको छ तर कार्यान्वयन गरेको छैन,’ गंगामायाले भनिन्, ‘अहिले मैले अनशन तोडेकी होइन्, स्थगित गरेकी हुँ । १० दिनको समय दिएकी छु । माग पूरा नभए म फेरि अनशन बस्छु ।’

पटकपटक जुस खुवाएर अनशन तोडाउने काम भए पनि माग पूरा गर्ने काम सरकारबाट नभएकाले आफू धेरैपटक जिउँदै मरिसकेको उनले बताइन् । – आजको राजधानी दैनिकबाट