काठमाडौँ– कागजी सवारी चालक अनुमति पत्र (लाइसेन्स) लाई विस्थापित गर्दै नेपाल सरकारले स्मार्ट लाइसेन्सको व्यवस्था लागु गरेको छ । कम्प्युटराइज्ड प्रवधिसहितको यो लाइसेन्स लागू गरेपछि ट्राफिक नियमनमा सहज हुने सरकारले विश्वास लिएको थियो । तर, अहिले यही स्मार्ट लाइसेन्स पनि नक्कली बन्न थालेपछि ट्राफिक प्रहरीका लागि टाउको दुःखाई बनेको छ । कारण – ट्राफिक प्रहरीसँग स्मार्ट लाइसेन्स सक्कली हो वा नक्कली छुट्याउने मेसिन नै छैन ।


ADVERTISEMENT


पछिल्लो समय स्मार्ट लाइसेन्स पनि नक्कली बन्न थालेको पाइएको स्वीकार गर्छन् ललितपुर ट्राफिक प्रहरी प्रमुख सीताराम हाछेथु । तर, प्रहरीसँग आवश्यक प्रविधि नहुँदा स्मार्ट लाइसेन्स जाँचमा समस्या भइरहेको उनी बताउँछन् ।


ADVERTISEMENT

# # #


‘स्मार्ट लाइसेन्सको नयाँ प्रविधि भित्रिएपछि त्यो लाइसेन्स जाँच गर्ने प्रविधि हामीसँग छैन,’ हाछेथुले रातोपाटीसँग कुरा गर्दै भने, ‘नाङ्गो आँखाले कुन सक्कली कुन नक्कली हो हामीलाई छुट्याउनै गाह्रो छ ।’

यसरी खुल्यो पोल
ललितपुर ट्राफिक प्रहरी आफैले नक्कली स्मार्ट लाइसेन्स बोकेको चालकलाई पक्राउ गर्न सफल भएको छ । तर, त्यो स्मार्ट लाइसेन्सलाई कुनै प्रविधिले जाँच गरेर होइन, प्रहरीले आफ्नै अनुभवको आधारमा फेला पार्न सफल भएको हो ।

हाछेथुका अनुसार नियमति जाँचको क्रममा ती सवारी चालकले ‘लाइट’ गाडीको अनुमति नलिई ‘हेभी’ गाडीको अनुमति लिएको पाइएपछि शंका लागेर सोधपुछ गर्दा लाइसेन्स नक्कली भएको खुलासा भएको थियो ।

कालिकोट घर भई हाल सुकेधारा बस्दै आएका २३ वर्षीय चक्र नेपालीले त्यही नक्कली लाइसेन्स लिएर बा ५ ख २८५४ नम्बरको चक्रपथ रुटमा चल्ने सार्वजनिक बस चलाइरहेका थिए । नियम अनुसार माइक्रो जस्ता लाइट सवारी दुई वर्ष चलाएपछि मात्र हेभी गाडीको लाइसेन्स लिन पाइन्छ । नेपालीले भने सो प्रक्रिया पूरा नगरी हेभी गाडीको लाइसेन्स लिएको पाइएको थियो ।

‘हामीले उनलाई केरकार गरेपछि १२ हजार रुपैयाँमा ठूलो भर्याङमा ‘ललित’ भन्ने व्यक्तिले उक्त नक्कली लाइसेन्स बनाइदिएको स्वीकार गरे,’ हाछेथुले भने । अनुसन्धान गर्दै जाँदा ‘ललित’ भन्ने व्यक्तिले काठमाडौँ जिल्ला बस्ने विष्णु महर्जन नाममा रहेको लाइसेन्स नम्बरमा नेपालीलाई नक्कली लाइसेन्स नम्बर तयार गरेको पनि फेला पारेको छ । नेपालीलाई थप कारवाहीको लागि प्रहरी वृत सातबाटोमा पठाइएको छ ।

कमजोरीको फाइदा उठाउँदै गिरोह
स्मार्ट लाइसेन्स भित्र्याउने निर्णयसँगै ट्राफिक प्रहरीलाई पनि त्यो जाँच गर्नका लागि छुट्टै मेसिन प्रदान गरिने बताइएको थियो । तर, दुई वर्ष बितिसक्दा पनि ट्राफिक प्रहरीसँग उक्त मेसिन आइपुगेको छैन ।

मेसिनको अभावमा प्रहरीलाई लाइसेन्स जाँच गर्न असहज भइरहेको छ । यसको फाइदा नक्कली लाइसेन्स बनाउने गिरोहले उठाइरहेका छन् । प्रविधिविहीन प्रहरी स्मार्ट लाइसेन्स जाँचमा निरिह बन्नुपर्दा नक्कली लाइसेन्स बनाउने गिरोह यतिबेला सक्रिय बनेको छ ।

‘सार्वजनिक यातायात जस्तो संवेदनशील सवारीमा नक्कली लाइसेन्सधारीहरुले सवारी चलाएको पाउनु निकै गम्भिर विषय हो,’ हाछेथु भन्छन्, ‘यसले ठूलो भवितव्यको खतरा बढाएको छ ।’