काठमाडौँ– अबको दुई दिनसम्म देशको पश्चिमी भेगका केही स्थानमा भारी वर्षा हुने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।


ADVERTISEMENT


महाशाखाले आगामी तीन दिनसम्मको मौसम पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आज र भोलि (आइतबार) देशको पश्चिमी तथा अन्य केही स्थानमा भारी वर्षाको सम्भावना औँल्याएको हो ।


ADVERTISEMENT

# # #


आज दिउँसो देशभरि नै सामान्यतया बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा र पश्चिमका केही स्थानमा भारी वर्षा हुनेछ । त्यसैगरी, राति पनि देशभर नै बदली रही केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षा तथा कतिपय स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलि (आइतबार) दिउँसोको समयमा देशभरि नै बदली रही देशको पश्चिमी भूभागका साथै मध्य र पूर्वी पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ भने मध्य र पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना रहेको छ ।

असार ३२ गते देशभरि नै बदली रही देशको मध्य र पश्चिमी भूभागका साथै पूर्वी पहाडी भेगका केही स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ भने पूर्वी तराईका एक दुई स्थानमा हल्कादेखि मध्यमखालको वर्षाको सम्भावना छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज ओखलढुङ्गामा ४६, ताप्लेजुङमा २६, पोखरामा १२, जुम्लामा ११, धनकुटामा छ, डडेल्धुरामा चार र दिपायलमा दुई मिलिमिटर वर्षा भएको छ । काठमाडौँमा १.२ मिलिमिटर वर्षा भएको छ ।

आज काठमाडौँको अधिकतम तापक्रम ३०.५ र न्यूनतम ताफक्रम २०.८ डिग्री सेल्सियस रहेको छ ।

महाशाखाले मनसुन सक्रिय भएसँगै करीब दुई सातादेखि दैनिकजसो मनसुन पूर्वानुमानसम्बन्धी विज्ञप्ति जारी गर्दै आएको छ । मनसुनी वर्षा अझै केही दिन जारी रहने अनुमान गरिएको छ । रासस