जोहानेस्बर्ग– अमेरिकी पूर्व राष्ट्रपति बाराक ओबामाले दक्षिण अफ्रिकी पूर्व राष्ट्रपति एवम् महान प्रजातन्त्रवादी नेता नेल्सन मण्डेलाको जन्म शताब्दि समारोहलाई मङ्गलबार सम्बोधन गर्ने भएका छन् ।


ADVERTISEMENT


उनी सोही प्रयोजनका लागि सोमबारै जोहानेस्बर्ग पुगेका छन् । बुधबार अर्थात् हरेक वर्षको जुलाई १८ मा नेल्सन मण्डेलाको जन्मदिन पर्दछ ।
यस वर्ष उनको १०० औँ जन्मदिन हो । तर मङ्गलबारको यस समारोह उनको १०० औँ जन्मदिनको पूर्वसन्ध्यामा आयोजना गरिएको बताइएको छ ।
बाराक ओबामा सन् २०१७ मा अमेरिकाको राष्ट्रपतिबाट पदावधि सकिएर निस्किएपछि सार्वजनिक समारोहमा खासै उपस्थित हुने गरेका छैनन् ।
तर नेल्सन मण्डेलालाई भने ओबामाले आफ्नो जीवनको प्रेरणाको रुपमा लिने गरेका छन् । त्यसैले उनी सो समारोहलाई सम्बोधनका लागि त्यहाँ पुगेका हुन्।
मङ्गलबार यस अवसरमा आयोजना हुने कार्यक्रममा कम्तीमा पनि १५ हजार जनाको सहभागिता रहने भएको छ । उक्त सभालाई विश्वका केही नेता तथा पूर्व राष्ट्रपति ओबामाले सम्बोधन गर्ने बताइएको छ ।


ADVERTISEMENT

# # #


दक्षिण अफ्रिकाको जोहानेस्बर्गमा रहेको ठूलो क्रिकेट रङ्गशालामा सो समोरोहको आयोजना गरिएको छ । मण्डेलाको जन्मदिनमा आयोजना हुने यस्तो कार्यक्रमलाई वर्षेनी भव्य बनाउने गरिएको छ ।

उनले उक्त सभामा विशेषगरी युवा बर्गलाई प्रजातन्त्र, मानवअधिकार र शान्तिको संरक्षणका लागि लाग्न आह्वान गर्ने अनुमान गरिएको छ ।

सन् २०१३ मा निधन भएका नेता नेल्सन मण्डेला विश्वका प्रजातन्त्रवादी नेताका रुपमा प्रख्यात थिए । उनले दक्षिण अफ्रिकामा रङ्गभेद विरुद्धमा लामो सङ्घर्ष गरे र त्यसका लागि उनले २७ वर्षसम्म जेल सजाय पनि भोगेका थिए ।
रासस÷एएफपी