काठमाडौं– आगामी जुलाई २९ देखि सुरु हुने यूरोप भ्रमणका लागि १५ सदस्यीय नेपाली क्रिकेट टोलिको घोषणा भएको छ । छनोट समितिले पारस खड्काको कप्तानीमा १५ सदस्यीय नेपाली क्रिकेट टिमको घोषणा गरेको हो ।


ADVERTISEMENT


चोटका कारण लामो समय टिम बाहिर रहेका ओपनर तथा विकेटकिपर सुवास खकुरेलले पुनरागमन गरेका छन् । खराब फर्मले गर्दा टिम बाहिर रहेका विनोद भण्डारी, प्रदीप ऐरी अन्तिम २० मा परेपनि टोलिमा अटाउन सकेनन् । यस्तै सुनिल धमला, सुसन भारी र हरि चौहानले पनि अन्तिम २० मै चित्त बुझाउनु परेको छ ।


ADVERTISEMENT

# # #


नेपाली टोली

१. पारस खड्का(कप्तान)
२. अनिल कुमार शाह
३. वसन्त रेग्मी
४. दीपेन्द्रसिंह ऐरी
५. ज्ञानेन्द्र मल्ल
६. करण केसी
७. ललित भण्डारी
८. ललितनारायण राजवंशी
९. आरिफ शेख
१०. रोहित कुमार पौडेल
११. सन्दीप लामिछाने
१२. शक्ति गौचन
१३. शरद भेषवाकर
१४. सोमपाल कामी
१५.सुवास खकुरेल

वैकल्पिक खेलाडी

विनोद भण्डारी
सुनिल धमला
सुसन भारी
प्रदीप ऐरी

नेपालले आगामी जुलाई २९ मा इङल्याण्डको लर्डस् मैदानमा मेरिलेवन क्रिकेट क्लब (एमसीसी) र नेदरल्याण्डसंग टी-ट्वान्टी सिरिज खेल्दैछ । जसका लागि एमसीसीले आफ्नो कप्तानमा श्रीलङ्काका चर्चित खेलाडी तथा पूर्व कप्तान माहिला जयवर्दनेलाई कप्तानमा नियुक्ति गरिसकेको छ । नेदरल्याण्डसंगको खेललाई यस अघि नै अन्तराष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)ले टी-ट्वान्टी अन्तराष्ट्रियको मान्यता दिइसकेको छ ।

नेपाल र नेदरल्याण्ड सन् २०१५ पछि पहिलो पटक टी-ट्वान्टी फम्र्याटमा भिड्दैछन् । जतिबेला नेपालले आयोजक नेदरल्याण्डसंग चार खेलमध्ये तीनमा हार ब्यहोरेको थियो । यो सिरिज नेपालको लागि एकदिवसीय मान्यता पाइसकेपछिको पहिलो टी-ट्वान्टी खेल हुनेछ ।

यस्तै नेदरल्याण्ड लर्डस् मैदानमा २००९ पछि पहिलो पटक उत्रिँदैछ । उसले त्यतिबेला आइसीसी वल्र्ड ट्वान्टी ट्वान्टीको खेलमा इङल्याण्डलाई चार विकेटले हराएको थियो ।

यता नेपालका लागि भने यो लर्डस् भ्रणम दोस्रो हुनेछ । उसले सन् २०१६ मा नेपाल र बेलायतको कुटनीतिक सम्बन्ध स्थापना भएको २००  औँ वर्षको अवसरमा एमसीसीसंग खेल्ने अवसर पाएको थियो । त्यतिबेला नेपालले एमसीसीलाई ४१ रनले पराजित गरेको थियो ।

यस्तै अगस्त १ र ३ मा नेदरल्याण्डसंग उसकै घरेलु मैदानमा नेपालले पहिलो पटक ऐतिहासिक एकदिवसीय सिरिज खेल्दैछ । करिब एक महिनादेखि अभ्यासमा व्यस्त नेपाली क्रिकेट टिम ३ गते बिहीबार इंग्ल्यान्ड प्रस्थान गर्नेछ ।

त्रिकोणात्मक टि–२० श्रृखंला अघि नेपालले लण्डनको प्रतिष्ठित क्लब हम्पशायर हग्स क्रिकेट क्लबसँग ५० ओभरको अभ्यास खेल खेल्नेछ ।